संसदीय सुनुवाइ समिति अाज गठन हुँदै, सदनबाट सदस्य सिफारिसपछि समितिले पूर्णता पाउने

काठमाडौँ, असार २२ । संसदीय सुनुवाइ समिति शुक्रबार गठन हुने भएको छ । संघीय संसदका दुबै सदनका सदस्यको प्रतिनिधित्व रहने विशेष समिति गठन नहुँदा संवैधानिक निकायका पदाधिकारीको सुनुवाइ प्रक्रिया रोकिएको छ ।

शुक्रबार दुबै सदनबाट सदस्य सिफारिस भएपछि समितिले पूर्णता पाउने छ । समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यको प्रतिनिधित्व रहनेछ ।

सभामुख कृष्णबहादुर महराले शुक्रबारको बैठकले समिति गठनको घोषणा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले नियमावली अनुसार समिति गठनको प्रक्रिया अगाडि बढाउनु पर्नेछ ।

त्यसमा पनि संसदीय सुनुवाई समिति तत्काल गठन गर्नुु पर्नेछ । सबै राजनीतिक दलहरूले समितिमा प्रतिनिधित्व गर्ने सदस्यको नामावली दिनुभएको छ । शुक्रबार औपचारिक रुपमा समिति घोषणा हुन्छ ।’

१५ सदस्यीय समितिमा दलीय आधारमा सदस्यको प्रतिनिधित्व हुनेछ । समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई, पूर्णकुमारी सुवेदी, अमृता थापा, निरु पाल, पार्वत गुरुङ र शिवकुमार मण्डल रहनुभएको छ ।

यस्तै, नेपाली कांग्रेसबाट संसदीय दलकी सचेतक पुष्पा भुसालसहित ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान रहनुभएको छ । संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको नाम सिफारिस भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार नै नामावली उपलब्ध गराउने जानकारी सभामुखलाई दिएको छ ।समिति गठनसँगै सिफारिस भएका पदाधिकारीको सुनुवाइको बाटो खुल्नेछ । संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरे पनि सुनुवाइका लागि नाम प्राप्त भएको छैन ।
सुनुवाइ समितिमा नाम प्राप्त भएपछि बढीमा ४५ दिनभित्र सुनुवाइको प्रक्रिया पूरा गर्नुपर्नेछ । सुनुवाइको पत्र पाएको ४५ दिनभित्र समितिले कुनै निर्णय गर्न नसकेमा नियुक्तिका लागि बाधा नपुग्ने प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *