धरानका सडक जिर्ण बन्दै, स्थानीय तह मौन

धरान, असार २१ । धरानका अधिकांश सडकहरु जिर्ण बन्दै जान थालेका छन् । सुनसरीको सुन्दर नगरी धरान भनेर नाम कहलिएका धरान बजारका सडकहरु स्थानीय सरकारको गैर जिम्मेवारी तथा सरोकारवाला निकायको चासो कम भएसंगै जिर्ण बन्न थालेको हो ।

धरान उपमहानगरपालिका भित्रका कोशी राजमार्ग देखी शाखा सडकहरु समेत जिर्ण अवस्थामा छन् । अधिकांश सडकहरु भत्किएका, खाल्डा परेका छन् । साईड दिनै नसकिने सांघुरा सडकमा घरपालुवा चौपाया सडकमा जथाभावी छाडिने हुँदा सडक दुर्घटना बढ्दै गएको जानकारहरु बताउँछन् ।

सांघुरा खहरे खोलाहरुमा निर्माण भएका पुलहरुमा ठेकेदारको लापरवाही र सरोकारवालाहरुको बेवास्ताका कारण निर्माण भएको छोटो समयमा नै पानी पसेर भत्किने,बाढीले बगाउने अवस्था छ । सवारी साधनहरुबाट सडक बोर्डले वार्षिक ४ अर्ब बढी रकम सडक मर्मतका लागि संकलन गरेपनि मर्मत गर्न कसैले चासो देखाएका छैनन् ।

‘चुनाव ताका नेताहरु घर घर पुगेर भोट माग्दा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता विकासका आधारभुत आवश्यकता पूरा गर्ने सपना देखाएका थिए तर अहिले चुनाव जितेर गएपछि नाकमुखै देखाउन छोडे ।’ धरान –११ ठाडोसोलिङ्कका पुष्पा परियारले गुनासो गरिन् ।

निर्वाचन जितेर स्थानीय सरकारमा पुगेका जनप्रतिनिधीहरुले निर्वाचन ताका गरेका प्रतिबद्धता विर्सिएको स्थानीयको भनाई छ ।

खाल्डाखुल्डी भएका सडकमा सवारी चलाउँदा विपरित दिशाबाट आएका साधनलाई साईड दिन र खाल्डा कटाउन खोज्दा मोटरसाईकल लड्ने हातखुट्ठामा चोटपटक लाग्ने सवारी साधन बिग्रने गरेको सवारी चालकहरुको गुनासो छ ।

नगरका केही ठाउँमा आर्थिक वर्ष सकिन लाग्दा बजेट सिध्याउने निहुँमा हतार हतार सडक निर्माणका काम भईरहेका छन् । यसरी हतारमा गरिएका काम गुणस्तर नहुने र जनताको आँखामा छारो हाल्ने काम मात्र भइरहेको परियारले बताईन् ।

‘जनतालाई मिठो बोलीले आश्वसन दिने र झुक्याउने नेता तथा ठेकेदार धरानवासीलाई आवश्यक छैन । धरानका लागि बिकास गर्ने नेता आवश्यक छ ’ परियारको धारणा छ ।

सडकमै हाटबजार लगाउने ,सडक अवरुद्ध हुने गरी भवन निर्माण सामाग्रीहरु जथाभावी थुपार्ने, सडकमै घुम्ती पसल राखी व्यापार व्यवसाय गर्ने, सडकमा जथाभावी सवारी पाकिङ्क गर्ने कार्यले दुर्घटना बढाएको छ ।

हाल धरानको बिच बजार भएर जाने कोशी राजमार्ग १५ मिटर फराकिलो छ । सडक मापदण्डअनुसार कोशी राजमार्ग सेन्टरबाट २५ देखि ३० मिटर फराकिलो हुनुपर्छ । सडक संग जोडिएका व्याक्तिको निजि जग्गा भए थप ६ मिटर छोड्नु पर्ने हुन्छ । तर धरान बजारको राजमार्ग छेउमै सडक घरहरु जोडिँदा बाटो साँघुरो भएको छ ।

राजमार्गको मापदण्ड अनुसार सडक ६२ मिटर चौडा हुनुपर्छ ।

धरान भित्र रहेका सडकहरु जिर्ण अबस्थामा रहेकोे धरान –१५ का सुजेन्द्र गोले तामाङले बताए । धरान हुदै पहाडी जिल्लाहरु सम्म जाने कोशी राजमार्ग मुख्य सडक तीनकुने देखि जिरोप्वाईन्ट सम्म ठाउँ ठाउँमा खाल्डा खुल्डी भएकाले यातायातमा असहजता उत्पन्न भई सवारी दुर्घटना हुने सम्भावना अन्यन्तै बढेर गएको गोलेको भनाई छ ।

स्थानीय सरकार र सम्बन्धित निकायको बेवास्ताका कारण धरान भित्र रहेका विभिन्न पुलहरुको अवस्था चिन्ताजनक रहेको छ ।
‘भर्खरै निर्माण गरिएका पुलहरु प्नि कमजोर संरचनाका कारण भत्कने अवस्थामा छन् । जसले गर्दा कुनैपनि बेला पुल भत्किएर दुर्घटना नहोला भन्न सकिन्न ’ नेपाली कांग्रेस जिल्ला सचिव समेत रहेका तामाङले भने ।

अहिले धरानको मुख्य सडक कोशी राजमार्ग तीनकुने देखि जिरोप्वाईन्ट सम्म १ सय २० ठाउँमा गरी ४ सय बढी खाल्डा खुल्डी भएका छन् । सडक विभाग, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रमुख, उप–प्रमुख लगायतको ध्यानार्कषण भई सडकहरु चाडो मर्मत सम्भार गर्न गोलेले आग्रह समेत गरेका छन् ।

जिर्ण सडक, जिर्ण सवारी साधनले क्षमता भन्दा बढी लोडका कारण दुर्घटना बढीरहेका छन् । सार्वजनिक यातायात सेवामा निजि लगानीका कारण सेवामुखी भन्द पनि नाफामुखी बढी भएकाले धेरै कमाउन क्षमता भन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रुपमा ठिक नभएका सवारी साधन मर्मत नगरी ठेक्कामा जिम्मा लगाउने प्रवृत्ति बढ्दो छ ।

त्यस्तै कम उमेरका सवारी चालकले ठुला सवारी साधन चलाउनु, सडक ऐन कानुन बारे जानकार नहुनुका कारण दुर्घटना बढ्ने गरेको जानकारहरु बताउछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *