मन्त्री यादवको निर्देशनमा जुम्ला पुगे चिकित्सक टोली, डा. केसीको उपचारमा कुनै कसर नराखिने

काठमाडौं, असार २१ । जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्री उपेन्द्र यादवले निर्देशन दिएका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र विरामीहरुको सेवामा खटिन पनि स्वास्थ्य मन्त्री यादवले निर्देशन दिएका हुन् ।

डा. गोविन्द केसीको उपचारका लागि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली आजै बिहान जुम्लातर्फ लागेका हुन् ।

डा. थापा र सुवेदीद्वयको टोलीले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालबाट थप चिकित्सकको टोली लिएर आजै जुम्ला पुग्ने स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।


स्वास्थ्यमन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भईरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने पनि बताएको स्वकीय सचिव चौरसियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *