स्नातक गरेका विद्यार्थीका कला, आर्ट काउन्सिलमा प्रदर्शनी

साउन, ८ काठमाडौंँ । काठमाडौंँ विश्वविद्यालय स्कूल अफ आर्टस्, सेन्टर फर आर्ट एण्ड डिजाइनमा कला विषयमा स्नातक गरेका १४ विद्यार्थीका कला नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी शुरु भएको छ । स्टुडियो आर्ट र ग्राफिक कम्युनिकेशन विषयमा अध्ययनरत कला विद्यार्थीले तयार पारेका कलाले नेपाली सांस्कृतिक, सामाजिक, लैंगिक समानता, सपनालगायत विषय समेटेका छन् । प्रदर्शनीको उद्घाटन काठमाडौंँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ र नेपालका लागि फ्रान्सका राजदूत इभस कारमोनाले संयुक्त रुपमा गर्नुभएको थियो ।


सो अवसरमा उपकुलपति श्रेष्ठले कला र संस्कृति मानव जीवनको मेरुदण्ड भएकाले यसको विकासमा विश्वविद्यालयले काम गरिरहेको जानकारी दिनुभयो । फ्रान्सेली राजदूत कारमोनाले नयाँ पुस्ताका नेपाली कलाकारले राम्रा कलाकृति बनाउँदै गएको बताउनुभयो ।
स्कूल अफ आर्टसका डिन डा सागरराज शर्माले कलाले समाजलाई जोड्ने भएकाले नेपाली समाजको प्रतिविम्बका रुपमा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । सेन्टर फर आर्ट एण्ड डिजाइनका प्रोग्राम कोअडिनेटर सुजन चित्रकारले कला क्षेत्रमा विद्यार्थीले नयाँ ढंग र सिर्जनात्मक रुपमा काम गरेको बताउनुभयो ।
सोमबारसम्म चल्ने प्रदर्शनीमा पुष्पा पराजुली, बर्सात् वे कार्की, कञ्चन तामाङ, नीलम भुर्तेल, राजकुमार राई, राजा महर्जन, सरला मानन्धर र युनिशा श्रेष्ठले स्टुडियो आर्ट अन्तर्गत बनाएका कला राखिएको छ । त्यस्तै एलिना मानन्धर, विशेषता धाख्वा, ज्योति श्रेष्ठ, नुरिशा सिंह, संभव महर्जन र श्रेया श्रेष्ठका ग्राफिक कम्युनिकेशनअन्तर्गत प्रोडक्ट डिजाइन, ज्वेलरी डिजाइन लगायत कला प्रदर्शनीमा राखिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *