लेग स्पिनर सन्दीपको उत्कृष्ट प्रदर्शन, मोन्ट्रेलको पहिलो जित

काठमाडौं, असार २१ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मोन्ट्रेल टाइगर्सले क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा एडमोन्टोन रोयल्सलाई १५ रनले हराउदै मोन्ट्रेलले पहिलो जित निकालेको हो ।

सन्दीप रहेको टोली मोन्ट्रेलले अघिल्ला तीन खेलमा लगातार हार बेहोरेको थियो । तर, चौथो खेलपछि भने मोन्ट्रेलले जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रेलले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२९ रन जोडेको थियो ।

मोन्ट्रेलको लागि मोइसेस हेन्रिक़ुएसले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नाजिबउल्लाह जाड्रानले अविजित २२ रन जोड्दा सिकन्दर राजाले २० रन जोडे । एडमोन्टोनका वायन प्रनीलले ३ विकेट लिए ।

मोन्ट्रेलले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एडमोन्टोन १९ ओभर १ बलमा अलआउट हुँदै ११४ रनमा समेटियो ।  एडमोन्टोनका लुके रोचीले ३० तथा शाइमान अनवरले २४ रन जोडे । यस्तै केभिन ओ ब्रायनले १५ तथा हसन खानले १२ रन जोडे ।

एडमोन्टोन सस्तैमा रोक्न मोन्ट्रेलका पिटर म्याथ्यु सीड्लेले ४ विकेट लिदा लाथिस मालिंगा र केवोन कोपरले समान २-२ विकेट लिए ।

मोन्ट्रेलको जितमा युवा लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गरे । सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए । सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेटचरलाई ९ रनमा पेभेलियन फर्काएका थिए । जारी प्रतियोगितामा यो सन्दीपको तेस्रो विकेट हो ।

सन्दीपले खेलेको तीन खेलमा समान एक एक विकेट लिएका हुन् । सन्दीपले दोस्रो खेलमा ४ ओभर बलिङ  गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए । डेब्यु खेलमा भने सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए ।

यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए ।  भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *