प्रचण्ड नभएको मौकामा पेरिसडाँडा बेच्ने षड्यन्त्र !

काठमाडौँ, असार २० । तत्कालिन माओवादी केन्द्रको हेडक्वार्टर पेरिसडाँडा विक्री गर्ने षड्यन्त्र भएको छ । काठमाडौँको कोटेश्वरस्थित पेरिसडाँडामा रहेको जग्गा धितो राखेर करोडौँ ऋण लिएका केही मजदुर नेताहरुले पार्टीलाई थाहै नदिई पेरिसडाँडा विक्री गर्ने षड्यन्त्र गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका वर्तमान सह–अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तत्कालिन मजदुर नेताहरुले दाहाल सिंगापुर गएको मौका पारी आफूले हिनामिना गरेको युवा स्वरोजगार कोषको करोडौं रकम तिर्न भन्दै पेरिसडाँडाको जग्गा बेचबिखन गर्न तीव्र चलखेल गरेको खुलासा भएको छ ।

पत्नी सीता दाहालको उपचारको लागि प्रचण्ड सिंगापुर गएको मौका पारी ती मजदुर नेताहरुले उक्त चलखेल गरेको स्रोतको दाबि छ ।

समाचार स्रोतका अनुसार तत्कालीन एमाओवादी नेतृत्वको अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलसहितका नेताहरुले बैशाख ८ गते २०६८ मा युवा स्वरोजगार कोषबाट मजदुर सहिद स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा लिएको पाँच करोड रुपैयाँ तिर्न भनी उक्त जग्गा बिक्रि गर्न थालेका हुन् ।

युवा स्वरोजगार कोषबाट लिएको पाँच करोड रुपैयाँ मजदुर नेताहरुले आपसी मिलेमतोमा हिनामिना गरेका छन् । कोषले पटक पटक ताकेता गर्दा पनि रकम नतिरेपछि मजदुर नेताहरुको नाममा भएको जग्गा रोक्का गर्ने र कालोसूचिमा नाम सार्वजनिक गर्ने तयारी गरेपछि उनीहरुले स्वरोजगार कोषलाई जग्गा बेचेर ऋण तिर्ने बताउँदै आएका छन् ।

तर जग्गा बेच्ने पक्षमा दाहाल, वर्षमान पुन लगायतका नेताहरुको सहमति नरहेको बुझिएको छ । त्यसैले दाहाल नभएको मौका पारी मजदुर नेता शालिकराम जमरकट्टेलको दबाबमा पेरिसडाँडामा रहेको २१ आना जग्गा बेचविखन गर्ने षड्यन्त्र गरिएको थियो ।

यसरी दाहाल र पुनको इच्छा विपरीत दाहाल निकट मजदुर नेताहरुले पार्टीको सम्पत्ती बेच्ने षड्यन्त्र गरेपछि पार्टीमा तीव्र विवाद उत्पन्न भएको छ ।

स्रोतका अनुसार तत्कालिन माओवादी केन्द्रका मजदुर नेता गणेश रेग्मी अध्यक्ष रहेको मजदुर सहिद स्मृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा लिइएको युवा स्वरोजगार कोषको करोडौं रकममाथि व्यापक दुरुपयोग भएको पाइएपछि कोषले मजदुर नेताहरु बाबुराम गौतम, पिताम्बर गिरी, उषा देवकोटा, सोम तामाङ, प्रकाश श्रेष्ठ, धनबहादुर विक, भूमबहादुर रेग्मी, कुमार पन्त, प्रदीप पुरीलगायतको नाममा रहेको जग्गा रोक्का गरेको छ ।

यसरी कोषले जग्गा रोक्का गरिदिएपछि मजदुर नेताहरु पेरिसडाँडाको जग्गा बेचेर कोषको ऋण तिर्ने दाउँमा लागिरहेका छन् ।

स्रोतका अनुसार मजदुर नेताहरु बाबुराम गौतम, जय कार्की र गणेश रेग्मीको नाममा रहेको उक्त जग्गा जय कार्की र जगत सिम्खडालगायत मजदुर नेताहरुले विक्री गर्न नदिने अडान लिएपछि संगठनभित्र मजदुर नेताहरुविच नै झगडा उत्पन्न भएको छ । स्रोतका अनुसार युवा स्वरोजगार कोष अन्तर्गत लिइएको पाँच करोड ऋण नेताहरु आफैले खाएका थिए ।

अखिल नेपाल ट्रेड यूनियन महासंघकी उपाध्यक्ष उषा देवकोटाले ५० लाख, अर्का नेता धन बहादुर विकले ५० लाख , बाबुराम गौतमले ५० लाख व्यत्तिगत रुपमा चलाएको स्रोतको दाबि छ ।

‘युवा स्वरोजगार कोषबाट सहकारीका नाममा निकालिएको ५ करोड रकममध्ये अधिकांस पैसा मजदुर नेताहरुले व्यक्तिगत रुपमा अपचलन गरेपछि समस्या भएको छ । अहिले उहाँहरु आफुले खाएको पैसा पार्टीलाई तिराउन खोज्दै हुनुहुन्छ ’ स्रोत भन्दछ ।

प्रचण्डले खुमलटार बोलाए

आफु सिंगापुर गएको बेला पार्टीलाई नै थाहै नदिई षड्यन्त्रपूर्वक पार्टीको सम्पत्ति विक्री गर्ने चलखेल गरेका मजदुर नेताहरुप्रति प्रचण्ड आक्रोशित भएका छन् ।

उनले बुधबार (आज) खुमलटारमा जग्गा विक्री गर्ने षड्यन्त्र रच्ने नेताहरुलाई बोलाउँदै झाँको झारेका छन् ।‘युवा स्वरोजगार कोषबाट ऋण लिएर ज–जसले चलाए उनीहरुले नै ऋण तिर्नु पर्छ , पार्टीको श्रीसम्पत्ति बेच्न मिल्दैन ।’ प्रचण्डले ती नेताहरुलाई गाली गर्दै भनेका छन् ।

पेरिसडाँडा स्रोतका अनुसार अध्यक्ष प्रचण्डले ऋण लिने ग्रुप लिडरहरुलाई समेत गाली गर्दै तत्काल ऋण नतिरे पार्टीले कारवाही गर्ने समेत निर्देशन दिएपछि स्वरोजगार कोषको पैसा हिनामिना गर्ने ती नेताहरु अहिले भागाभाग भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *