नेविसंघले तोड्यो निषेधित क्षेत्र, माइतीघरमा प्रदर्शन

काठमाडौं, असार २० । विरोध प्रदर्शनका लागि सरकारले तोकेको निषेधित क्षेत्र नेपाल विद्यार्थी संघले तोडेको छ । नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले सरकारले प्रतिबन्ध लगाएको माइतीघर मण्डलाको निषेधित क्षेत्रलाई बुधबार दिउँसो तोडेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोडेको हो ।

व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको छ । संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ । सोहि अनुरुप नेविसंघले आज व्यापक प्रदर्शन गरेको हो ।

गृहमन्त्री राम बहादुर थापा बादलले निषेधित क्षेत्र जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो ।

कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले सम्बोधन गरेका थिए । उनीहरुले गंगामाया अधिकारी, डा.गोविन्द केसीलगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए ।

उनीहरुले माइतिघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए । सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो ।

यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *