“””स्वास्थ्य–शिक्षा मुनाफाका क्षेत्र हैनन् र बनाउनु हुँदैन””–बाबुराम भट्टराई”

काठमाडौं, असार २० । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि डा. गोविन्द केसीको पक्षमा उभिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समय माग गरेर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यो निर्णयले लोकतन्त्रको सामान्य मुल्य मान्यतालाई कुण्ठित गर्ने काम गरेको भन्दै त्यो मान्य नहुने चेतावनी दिएका छन् ।

समय माग गरी बोल्दै उनले भने, “यो सरकारले माक्र्सवादको कुन चाही धारलाई पक्षपोषण गर्छ ?स्पष्ट पारियोस् ।”

सबैले मिलेर बनाएको संविधानको प्रस्तावनामा नै उल्लेख लोकतन्त्रमा आधारित समाजवाद उन्मुख प्रणाली भनेकाले समाजवाद र लोकतन्त्रलाई अपनाउने नीति सरकारले लिनुपर्ने तर्क गर्दै भट्टराईले सरकार लोकतन्त्र र समाजवादको सिद्धान्त र नीति विपरितका क्रियाकलाप गर्न उद्धत भएको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै भट्टराईले उपत्यकाका सार्वजनिक स्थलहरुमा सभा गर्न नपाउने निर्णय गरेर सरकारले लोकतन्त्र, समाजवाद र साम्यवादको सिद्धान्त र नीति विपरित अघि बढेको बताए ।

केही समय यता देखा परेका घटनाहरु लोकतन्त्र र समाजवादको सिद्धान्तले परिकल्पना गरेका नीति तर्फ उन्मुख नभएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

यसैबीच समाजिक सञ्जालमा पनि डा. भट्टराईले सरकारले मेडिकल क्षेत्रको वर्तमान विकृति हटाउनुको साटो अझैं थप्ने गरी चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै आलोचना समेत गरेका छन् ।

उनले चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिई डाक्टर गोविन्द केसीको स्वास्थ्य उपचारको व्यवस्था गर्दै जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्य र शिक्षा क्षेत्र मुनाफाका नभई सेवामुखि हुनुपर्नेमा जोड दिँदै भट्टराईले वर्तमान सरकारले यसलाई नजरअन्दाज गरेको आरोप लगाएका छन् ।

‘स्वास्थ्य–शिक्षा मुनाफाका क्षेत्र हैनन् र बनाउनु हुँदैन । यो माक्र्सवाद र समाजवादको कखरा हो । यसलाई नबुझ्ने र बुझपचाउनेहरूले आफुलाई कम्युनिष्ट भन्नु कस्तो विडम्वना हो ? भट्टराईले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *