डा.गोविन्द केसीको अनशन अवलोकन गर्न कांग्रेसले ३ सांसद जुम्ला पठाउने

काठमाडौँ, असार २० । नेपाली काँग्रेसले वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न र डा.गोविन्द के.सीको अनशन अवलोकन गर्नका लागि तीन सांसदलाई खटाउने भएको छ ।

कांग्रेसको बैठकले गोविन्द केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला पठाउने र छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्तपतालमा आमरण अनशन बसेकी गंगामायाको अवस्था बुझ्न सांसद खटाउने निर्णय गरेको हो ।

बुधबार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने भएको हो भने सांसदहरु पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनाले दिउँसो ३ बजे गंगामायालाई भेट्न जाने भएका हुन् ।

उनीहरुले डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको अवस्थाबारे जानकारी लिने प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनीहरु बिहीबार विहान त्यसतर्फ जानेछन् ।

त्यस्तै कांग्रेसको बैठकले सरकारले निश्चित स्थानलाई मात्र प्रदर्शन र सभास्थल तोकेर अन्य क्षेत्रमा निषेध गरेकोमा विरोध गर्दै अविलम्ब फिर्ता लिन माग गरेको छ । त्यस्तै मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेको छ ।

बैठकले मौलिक हक सम्बन्धि आवश्यक कानून निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले कानून निर्माणमा अग्रसरता नदेखाए काँग्रेस सांसदले नै निजि विधेयकका रुपमा मस्यौदा पेश गर्ने बैठकले चेतावनी दिएको छ ।

काँग्रेसले पाँच ‘स’ सदन, सडक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रह मार्फत सरकार विरुद्ध जाने तयारीलाई निष्कर्षमा पुर्याउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *