सरकारलाई झुक्याउँदै वीपी प्रतिष्ठान धरान ‘फार्मेसीमा सिटामोल समेत पाइन्न’

धरान धरान, असार २० । उच्चस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा ख्याती कमाएकोे धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्वसाधारण र विरामीलाई मात्र हैन सरकारकै आँखामा छारो हालेको छ ।

नेपाल सरकारले गत वर्षबाटै सरकारी स्वास्थ्य संस्थाहरुले अनिवार्य आफ्नै सर्वसुलभ फार्मेसी सञ्चालन गर्नुपर्ने भनेकोमा वीपी प्रतिष्ठानले भने औषधी उपकरण विनाको फार्मेसी सञ्चालनमा ल्याएर सरकारको आँखामा छारो हालेको हो । केहि महिना अघि निक्कै तामझामका साथ प्रतिष्ठान हाताभित्र सञ्चालनमा ल्याइएको फार्मेसीमा सामान्य औषधी बाहेक अरु औषधीहरु पाइदैनन् ।

फार्मेसीमा औषधीको अभाव हुँदा बिरामीहरु बाहिर महँगोमा औषधी किन्न बाध्य भएका छन् । अस्पतालले यस अघि सो स्थानमा निजी क्षेत्रलाई मासिक १२ लाखभन्दा बढि भाडा लिएर फार्मेसी सञ्चालन गर्न दिएको थियो । त्यतिबेला विरामीलाई कुनै अफ्ठेराे थिएन । २४ सै घण्टा फार्मेसी सञ्चालन भएको थियो । बिरामी भर्ना गरेका बिरामीका कुरुवाहरु डाक्टरले लेखिदिएको औषधी खरिद गर्न फार्मेसी जाँदा अस्पताल भित्रकै काउन्टरका कर्मचारीले औषधी नभएको बताएको ताप्लेजुङ्गबाट ७ वर्षको छोरीलाई उपचार गराउन प्रतिष्ठान आएका श्रीभक्त राईको गुनासो छ ।

‘डाक्टरले दिएको पुर्जी देखाउँदा औषधी छैन गेट बाहिर जानुस् भने ‘उनले भने सरकारले फार्मेसी चलायो रे भनेर सुनेको थिए तर औषधी नै रहेनछ ।’ उनले डाक्टरले तुरुन्तै औषधी लिएर आउनु भनेको तर, गेट बाहिरबाट ल्याउँदा समय लागेको बताए । ‘गेट बाहिर गएर औषधी ल्याउँदा डाक्टरले किन औषधी ढिलो ल्याएको भन्दै हप्काए ।’ करिब ८ सय शैया भएको प्रतिष्ठानमा विभिन्न रोगको उपचार गर्न दैनिक २ हजार भन्दा बढि बिरामी आउने गर्छन् । यो वाहेक प्रतिष्ठानमा पूर्वाञ्चलका विभिन्न सरकारी तथा नीजि स्वास्थ्य संस्थाबाट समेत विरामी रेफर हुने गर्दछन् ।

वीपी प्रतिष्ठान धरानको मात्र नभई दक्षिण एसियाकै उदाहरणीय स्वास्थ्य संस्था हो तर कमजोर ब्यवस्थापनका कारण पटक पटक बिरामीहरुले दुःख पाउने गरेको प्रतिष्ठानकै डाक्टरहरु बताउछन । ‘हामीले प्रतिष्ठान ब्यवस्थापनलाई बारम्बार फार्मेसीमा सबै प्रकारका औषधी उपकरण ब्यवस्था गर्न भनेपनि सुने नसुनेझै गरिएको छ ।’ गाइनोवार्डका एक चिकित्सकले भने ।

उनले कहिलेकाही जटिल प्रकारका विरामीलाई तत्काल चाहिने इन्जेक्सन समयमा उपलब्ध नहुँदा समस्या हुने गरेको जिकिर गरे । ‘हामीसँग स्टक भए वा अन्य विरामीसँग भए साटफेर गर्न दिन्छौं तर, हामीसँग पनि नभएको अवस्थामा समयमा औषधी उपलब्ध नहुँदा समस्या हुन्छ ।’ उनले भने ।

प्रतिष्ठानले गम्भीर प्रकृतिका रोग मुटु, मृगौला, क्यान्सर र स्पाईनल रोगका बिरामीलाई राज्यले दिएको सहुलियत समेत नदिएको विरामीहरुको गुनासो छ । त्यसैगरी प्रतिष्ठानले नेपाल सरकारले गर्भवती महिलाहरुका लागि दिने सुत्केरी भत्ता कार्यक्रम समेत लागू गरेको छैन । ‘खै सरकारले कडा खालको रोग लागेका विरामीलाई निःशुल्क उपचार अनी उपचार खर्चपनि दिने भनेको रहेछ, मलाई १ लाख बराबरको औषधी निशुल्क उपलब्ध गराउने भनिएता पनि कागजमा सहि गर्न लगाए तर, सहयोग पाइन । ’अस्पताल परिसरमै भेटिएका बराह नगरपालिकाका रमेश राईले बताए ।

प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरी भने सरकारी प्रक्रियाबाट टेन्डर आव्हान गरेर ठेक्का मार्फत औषधी खरिद गर्नुपर्ने भएकाले २ वटा ठेक्का रद्द भएका कारण फार्मेसीमा सेवाग्राहीले मागेको सबै औषधी उपलब्ध नभएको बताए । ‘सरकारी टेण्डर प्रक्रियाले हामीलाई समस्या भएको हो, औषधी खरिदका लागि २ पटक टेण्डर खोलिएको टेण्डर रद्द भयो ।’ उनले भने । प्रतिष्ठानले अस्पताल भित्र ३ वटा फार्मेसी सञ्चालन गदै आएको छ ।

जसका लािग फार्मेसिष्ट लगायत १८ जना कर्मचारीलाई प्रतिष्ठानले मासिक तलब भत्ता समेत दिँदै आएपनि पर्याप्त मात्रामा औषधी उपलब्ध नहुँदा विरामीलाई सास्ती भएको छ । प्रतिष्ठान भित्रको फार्मेसी भब्यताका साथ उद्घाटन गर्दा प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले बिरामीलाई कुनै पनि हालतमा औषधीको अभाव हुन नदिने दावी सहितको भाषण नै गरेका थिए । तर, अहिले फार्मेसी सञ्चालनमा आएको करिब ६ महिना वितिसक्दा पनि औषधी उपलब्ध नगराउनु कतै सरकारको आँखामा छारो हाल्न मात्रै फार्मेसी सञ्चालन त गरेको हैन ? शंका उत्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *