मलेसियामा अवैधानिक कामदार धमाधम पक्राउ

काठमाडौँ,असार १९ । जुन ३० सम्म वैधानिक भएर काम गर्ने अथवा घर फर्किने समय दिएको मलेसियाले धरपकट तिब्र पारेको छ । यो अवधिमा वैधानिक भएर त्यहीँ काम नगर्ने र घर फर्किने प्रक्रियामा पनि सामेल नहुने कामदारलाई पक्राउ गर्न थालिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार जुलाई १ देखि व्यापक प्रहरी परिचालन गरेर कामदार र त्यस्ता कामदारलाई काम दिने कम्पनीमाथी कारबाही थालिएको छ ।

तर अहिलेसम्म कति नेपाली पक्राउ परे भन्ने जानकारी मलेसियास्थित नेपाली दूतावासमा समेत आएको छैन । तर कामदार पक्राउलाई भने मलेसियाले तिब्र पारेको छ । यस विषयमा मलेसियाका सरकारी निकायले पनि नेपाली दूतावासलाई जानकारी गराएको छैन र कामदार समेत समस्या प¥यो भनेर दूतावासमा सम्पर्कमा छैनन् ।

मलेसियाले पटक–पटक आममाफी दिँदै अवैधानिक कामदारलाई देश छाड्न अवसर र नफर्किए कारबाही गर्ने चेतावनी दिए पनि धेरै आप्रवासी कामदार मलेसियामा अवैध रुपमै काम गरिरहेका छन् ।

यस पटक मलेसिया त्यस्ता कामदार र उनीहरुलाई काम दिने कम्पनीप्रति पनि कठोर बनेको छ । घर फर्किने प्रक्रियामा रहेका कामदारलाई भने अगष्ट ३० सम्मको समय दिइएको छ ।

अपराधीलाई जस्तो व्यवहार नगर्न संघसंस्थाको माग

अवैधानिक आप्रवासीमाथी सुरु भएको ओपिएस मेगा थ्री अपरेशन तत्काल रोक्न त्यहाँका संघसंस्थाले माग गरेका छन् । अरु नै प्रक्रियाबाट समस्या समाधान गर्न उनीहरुको सुझाव छ ।

मलेसियामा कार्यरत आप्रवासी कामदारका हकअधिकारवादी १० वटा संघसंस्थाहरुले संयुक्त विज्ञप्ती निकाल्दै अपरेशनका क्रममा पक्राउ परेका कुनै पनि कामदारलाई दण्ड सजाय नगर्न र अपराधिलाई जस्तो व्यवहार नगर्न मलेसिया सरकारको ध्यानाकर्षण गराएका छन् ।

अवैधानिक भएर काम गर्नु आप्रवासी कामदारको बाध्यता भएको र यसमा उनीहरुको कुनै गल्ती नभएको विज्ञप्तीमा उल्लेख छ । अपरेशन रोकेर सम्भावित अन्य विकल्पमा सबै पक्षसँग छलफल गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *