भक्तपुरमा धपाइयो ‘राक्षस’


साउन ७, भक्तपुर । नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाएका छन् । भक्तपुरको दत्तात्रय मन्दिर वरपरका बासिन्दाको यो पर्वमा विशेष सहभागीता जनाए ।

यस दिनलाई नेवार गृहशान्तिको कामनासहित आफ्ना परिवारलाई रोग-ब्याध नलागोस् भनेर राक्षस धपाउने पूजा गर्ने दिनका रुपमा लिइन्छ । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको हो ।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रुपमा पनि लिइन्छ ।

यस दिन घरको मूल ढोका र मुख्य निदालमा मयूरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ । यसै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ ।

भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि यसै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । घरका साना केटा-केटीलाई फलाम वा तामाको औंठी पनि आजै लगाइदिने चलन छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *