नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

बैंकक, असार १९ । थाइल्याण्डको एक गुफामा १० दिनदेखि थुनिएका फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई फेला पारिएको छ । गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारेको हो । चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका हुन् । ११ देखि १६ वर्षसम्मका ती बालक वाइल्ड बोअर सकर टिमका सदस्य थिए ।

उनीहरु गत जुन २३ मा गुफामा घुम्न गएका थिए । भारी वर्षाका कारण आएको बाढी गुफाभित्र पसेपछि उनीहरुको अवस्था अज्ञात थियो । गोताखोरको एक टोलीले उनीहरुलाई गुफाभित्र फेला पारेको अधिकारीहरुले जनाएका छन् । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ ।

गुफामा पानीको स्तर बढेको र गुफाभित्र लेदो पसेका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् । उद्धारका लागि खटिएका बेलायती गोताखोर टोलीले ती बालकसँग गुफाभित्रै कुराकानी गरेका थिए ।

उद्धार टोलीलाई उद्धृत गर्दै थाई अधिकारीले दिएको जानकारीअनुसार गुफाभित्र थुनिएका बालकले आफूहरुलाई कहिले बाहिर निकाल्ने भनेर उद्धारकर्तालाई सोधेका थिए । जवाफमा उद्धारकर्ताले ‘आज होइन’ भनेका थिए ।

बालकको समूहबाट एकजनाले प्रश्न गर्दै ‘आज कुन बार हो ?’ भनेर सोधेका थिए । जवाफमा उद्धारकर्मीले ‘सोमबार । तपाईहरु सबै बहादुर हुनुहुन्छ ।’ ती बालकका आफन्तहरुले उनीहरु जीवित रहेको तथ्य प्रकाशमा आएपछि खुशी प्रकट गरेका छन् ।

गुफाभित्र अनेकौं सुरुङ रहेको र ती बालक तथा उनीहरुका प्रशिक्षक निकै भित्र रहेका कारण उद्धारमा कठिनाई भएको बताइन्छ । उनीहरु गुफाभित्र बाढीको पानीले नभेट्ने एउटा ढिस्कोमा बसेको उद्धारकर्ताले जनाएका छन् । उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि मंगलबारबाट उद्धारकर्मी जुट्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *