मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सुदूरपश्चिमबाट वेतको सामग्री बोकेर चितवन

किशोर खनाल, भरतपुर । कुनै समय गीतानगरका गोपी दाहाल वेतको लठ्ठी लिन काशी पुग्न परेको थियो । अहिले उनले वेतको लठ्ठीलगायत वेतका धेरै सामग्री घरमै बसीबसी किन्न पाए । वेतको लठ्ठी घरमै किन्न पाउँदा उनको मन चङ्गा भएको छ ।
उनलाई सुदूरपश्चिमबाट आएका विकलकुमार ब्लोनले वेतको सामग्री बेचेका हुन् । सुदूरपश्चिमको कञ्चनपुरबाट आएका विकलकुमार हिजोआज चितवनका गाउँगाउँमा वेतका सामग्री बेच्दै हिँडेका छन् ।
‘कुनै समय वेतको सामग्री किन्न हामी काशीसम्म पगेका थियौँ, मान्छेहरु गयासम्म पुग्थे । अहिले घरमै किन्न पाउँदा मन चङ्गा भएको छ’ वृद्ध गोपी दाहालले भने, ‘धार्मिक दृष्टिकोणले वेतको महत्व ज्यादा छ, अहिलेका युवाहरुले यसको महत्व बुझ्न सकेका छैनन् ।’
विकलकुमार आफ्नो साथी शम्भु माझीसहित यतिबेला चितवनका गाउँगाउँमा वेतको सामग्री बेच्दै हिँडिरहेका छन् । विकलकुमारले मंगलपुरमा अस्थायी बसोबास गरी साइकल चढेर गाउँगाउँमा वेतका सामग्री बेचिरहेका छन् ।
उनले सूदूरपश्चिमाञ्चल कञ्चनपुरबाटै वेतको सामग्री बनाएर चितवन ल्याएका हुन् । उनीसँग वेतका ¥याक, हेङ्गर, मुढा, फूलदानी, कुर्चीलगायतका सामग्रीहरु छ । ‘पाँचसयदेखि डेढलाखसम्मको सामग्री छ । वेतको कुर्ची २५ सयमा विक्री भइरहेको छ । वेतको फूलदानी चारसय, मुढा पाँचसय र सोफा डेढलाखसम्म पर्छ’ विकलकुमारले भने ।
विकलको घर कञ्चनपुरको पुनर्वास नगरपालिका पर्छ । उनले बर्दियाबाट कञ्चा वेतको लहरो प्रतिकिलो एक सय रुपैयाँमा किन्छन् । बर्दियाका सामुदायिक वनहरुले आम्दानी गर्ने उद्देश्यले वेतको खेती नै गरेका छन् । उनले भने, ‘मैलै बर्दियाबाट कञ्चा वेत किनेर घरमा ल्याएर यसको सामग्री बनाउँछु । घरमै मेरो सानो उद्योग छ । चितवनमा यसको माग भएर यता बेच्न आएको हुुँ ।’
विकल र उनको साथी शम्भु मिलेर दिनको २० हजारको वेतको सामग्री बेचेका छन् । विकल भन्छन्, ‘२० हजारको बेच्दा दिनमा ६ हजार कमाइ हुन्छ ।’ उनी चितवनका एक हप्ता भयो । ‘डेरा सर्दै बेच्दै हिँड्छु, दुई चारदिनपछि रत्ननगर जान्छु, अनि हेटौडा पुग्छु । त्यसपछि पूर्वाञ्चलसम्म वेतका सामग्री बेच्दै हिँड्ने हो’ विकलले भने ।
वेत चाम्रो र बलियो एकजातको लहरो हो । वेतको सामग्री प्रयोग गरेमा घरमा शुभ हुने धार्मिक मान्यता छ । वेतको कुर्चीमा बसे स्वास्थ जीवन जिउन सकिने मान्यता रहेको पनि रहेको छ ।
‘यसको महत्व बूढापाकाहरुले सजिलै बुझ्छन्, तर युवाहरुलाई यसको महत्व बुझाउन गाह्रो भयो’ विकलले भने, ‘घरघरमै वेतको सामग्री ल्याउँदा वृद्धवृद्धाहरुले त मलाई भगवान मानेका छन्, तर युवाहरुलाई बुझाउन धेरै गाह्रो भएको छ ।’ उनको भनाइअनुसार वेतको सामग्री घरमा राखे घरकै रक्षा हुने मान्यता पनि छ । यसको लौरी टेकेर हिँडेमा आयु बढ्ने मान्यता पनि रहेको छ ।
वेतबाट बनाएका सामग्री बढी आकर्षक र किफायती हुन्छन् । वेतबाट बनाइएका सामग्रीको मूल्य पनि तुलनात्मक रूपमा बढी पर्छ । हातमा सीप भएकाहरूका लागि यो आम्दानीको दरिलो स्रोत भएको विकलले बताए । उनले भने, ‘मैले वेतको सामग्री बेचेर मासिक ५० हजार कमाइरहको छु ।’
वेतको एउटा उद्योग स्थापना गर्न २५ लाख रुपैयाँ लगानी गर्नुपर्छ । हालसम्म नेपालमा ठूला लगानीका ३० ओटा वेतका उद्योग स्थापना भएका छन् ।
नेपालमा बाँस र वेतका सामग्री उत्पादन गर्न कच्चापदार्थका लागि नवलपरासी जिल्लालाई पनि स्रोतका रूपमा लिइन्छ ।
नेपाल वेतमा आत्मनिर्भर बन्दै गएको छ । नेपालका सबै ठाउँमा वेत पाइँदैन कञ्चनपुर, सुर्खेत, बर्दिया, कैलाली, नवलपरासीलगायत जिल्लामा वेत पाइन्छ । उद्योगलाई आवश्यक वेत भारतबाट पनि आयात भइरहेको छ । पछिल्लो समय सानाठूला होटल, रेष्टुराँहरुमा वेतबाट बनेका विविध प्रकृतिका सामग्रीले सजाउन थालिएको छ ।

प्रतिकृयाहरु
Loading...