विदेशबाट फर्किएर नेपालमा काम गर्नेलाई सरकारले गर्यो सम्मान

काठमाडौँ,असार १८ । विदेशबाट फर्किएर नेपालमै व्यवसाय थालेका उद्यमीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कृत गरेको छ । एक जनालाई सर्वोत्कृष्ट र सात जनालाई उत्कृष्ट उद्यमीको पुरस्कार प्रदान गरिएको हो ।

१६ करोड लगानीमा उद्यम थालेका लमजुङका सोनाम लामाले सर्वोत्कृष्ट उद्यमी पुरस्कार पाएका छन् । लामा युएई २ वर्ष र इजरायलमा २ वर्ष रोजगारी गरेर फर्किएका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लामालाई एक लाख नगदसहित सर्वोत्कृष्ट उद्यमीको पुरस्कार प्रदान नगरेको हो । लमजुङको सुन्दरबजार गाउँपालिका ३ का लामाले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी मार्फत एकीकृत कृषि फार्म सञ्चालन गरेका छन् ।

अरु सात जनालाई उत्कृष्ट उद्यमीको पुरस्कार प्रदान गरिएको छ । ५० हजार रुपैयाँको उत्कृष्ट पुरस्कार प्रदेश नम्बर १, ४ र ५ का ७ जना उद्यमीले पाएका हुन् ।

बाग्लुङको काँठेखोला गाउँपालिका ५ बिहुँकोटका देवी प्रसाद खत्री, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ का हरि लुईंटेल काठमाडौंको कलंकीका खोजराज कटुवाल,पर्वतको मोदी गाउँपालिका ४ क्याङका गणेश पुन मगरले पाएका छन् ।

यस्तै बर्दियाको ठाकुरबाबा गाउँपालिका २ बलातीका प्रेमप्रसाद लामिछाने, रुपन्देहीको सैनामैना नगरपालिका ९ शंकरपुरका द्रोनप्रसाद न्यौपाने र बर्दियाको बढैयाताल गाउँपालिका ७ का रामदिपाल थारु पनि उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत भएका छन् ।

देवी प्रसाद खत्री साढे दुई वर्ष युएईमा काम गरेर फर्किएका हुन् । उनले एक करोड रुपैयाँको लागतमा अलैंची खेती गर्दै आएका छन् । हरि लुईंटेलले दिक्तलेमा मनकामना होटल तथा १६ लाखको लागतमा कृषिफार्म सञ्चालन गरेका छन् ।

लुईंटेल साढे आठ वर्ष कतारमा काम गरेर फर्किएका हुन् । साउदी अरव ५ वर्ष, युएई एक वर्ष इजरायल ६ वर्ष बसेर फर्किएका खोजराज कटुवाल अहिले तरकारी खेती गर्दै आएका छन् । उनले ५५ लाखको लागतमा तरकारी खेती, माइक्रो सिँचाइ, नर्सरी र कृषि तालिम सञ्चालन गर्छन् ।

७५ लाखको लागतमा कृषि तथा बाख्रापालन गर्दै आएका गणेश पुन १२ वर्ष साउदी बसेर फर्किएका हुन् । साउदीमा ३ वर्ष काम गरेर फर्किएका प्रेमप्रसाद लामिछानेले पनि २७ लाख लगानी गरेर बाख्रापालन गर्दै छन् ।

रोजगारीका लागि युएई पुगेका द्रोन प्रसाद न्यौपानेले पनि १ करोड ७५ लाख लगानी गरे र एकीकृत कृषि फर्म गर्दै आएका छन् । इजरायलमा १ वर्ष काम गरेर फर्किएका रामदिपाल थारुले पनि थोरै लगानीमा स्वदेशमै व्यवसाय गर्दै आएका छन् ।२ लाख लगानी गरेर मौसमी बेमौसमी नगदे बाली तथा बेर्ना उत्पादन गर्दै आएका छन् ।

पुरस्कारका लागि विदेशबाट फर्किएर व्यवसाय गरिरहेका २३ जनाले आवेदन दिएका थिए । ती मध्ये उत्कृष्टलाई छनौट गरिएको पुरस्कार छनौट तथा सिफारिस समितिले जनाएको छ ।

छनौट समितिले उनीहरुले गरेको रोजगारीको सिर्जना, पुँजी लगानी स्थानीय साधान स्रोत र प्रविधिको उपयोग, उर्जा खपत, आयात प्रतिस्थापन, अनुसन्धानमूलक वा आविस्कृत प्रविधिको प्रयोग र राज्यलाई गरेको योगदानलाई मूल्याङ्ककनको आधार बनाएको थियो ।

यस्तै सामाजिक दायित्व वहन, वातावरण मैत्री प्रविधि प्रयोग तथा प्रदुषण व्यवस्थापन, दुर्गम एवं विकट क्षेत्र र सिमान्तकृत वर्गलाई रोजगारी प्रदान गर्नेहरु पुरस्कारका लागि प्राथमिकतामा परेका हुन् ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले विदेशबाट फर्किएर उद्यम गरिरहेकाहरुले नेपालमै पर्याप्त संभावना छ भन्ने सन्देश दिएको बताए ।

उनले भने, ‘एकतिर नेपालमा रोजगारी छैन भन्दै विदेशी रहेका छन् । अर्को तर्फ कामदार पाइएन भन्दै विदेशबाट कामदार ल्याइरहेका छन् । तपाईहरुले काम गर्नेलाई नेपालमै अवसर छन् भन्ने सन्देश दिनु भएको छ ।’

मन्त्री विष्टले ५ वर्षभीत्रमा विदेश जानु पर्ने वाध्यता अन्त्ये गर्ने बताए । उनले सरकारले लाखौं नेपालीलाई रोजगारी दिने गरि योजना बनाइरहेको र केहि दिनमै त्यो घोषणा गर्ने बताए ।

सरकारले आह्वान गरेका बेला सहयोग गर्न उनले विदेशबाट फर्किएका उद्यमीलाई आग्रह पनि गरेका छन् । मन्त्रालयका सचिव महेश दाहालले अहिले उद्यम गरिरहेकाहरुलाई अब छिमेकी र गाउँलेलाई पनि उद्यमी बन्न सिकाउन आग्रह गरे ।

अब वैदेशिक रोजगारीमा जाने र फर्किनेको पनि सिप परीक्षणको व्यवस्था गर्ने र दक्षता अनुसारको रोजगारीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने सचिव दाहालले बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *