श्रीमती दाहालको स्वास्थ्यमा सुधार, आजै काठमाडौँ फर्किने

“
चितवन, असार १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ ।
श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर जानुभएको थियो । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ ।
तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताइन् । स्वास्थ्यमा सुधार आएपछि उनीहरु आज राति काठमाडौँ आउँदैछन् । उनी सँगै गएकी छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन् ।
यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उनले बताइन् । उनलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ ।
“








