तोकिएको ठाउँमा नजाने कर्मचारीको विकल्प खोजिन्छ –मन्त्री पण्डित

“
नेपालगन्ज, असार १६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको ठाउँमा नजाने कर्मचारीको विकल्प खोजिने बताएका छन् ।
शनिबार नेपालगंजमा आयोजित ‘प्रशासनिक पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाह र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रियामा तीन प्रदेशका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग गहन छलफल गरिसकेपछि मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएपछि विशेषतः स्थानीय तहको वित्तीय व्यवस्थापन, जनशक्ति र कानून निर्माणका चुनौतीका विषयमा गहन छलफल भएको थियो ।
कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय, बजेटको बाँडफाँड, कर्मचारी व्यवस्थापन, विकास योजना सञ्चालन गर्दा आउने कानूनी जटिलता लगायतका विषयमा एकरुपता र स्पष्टता ल्याउनुपर्नेमा सहभागीले विशेष जोड दिएका थिए ।
सहभागीको प्रस्तुती सकिएपछि मन्त्री पण्डितले तोकिएको ठाउँमा नजाने कर्मचारीको सरकारले विकल्प खोज्न सक्ने बताए।
उनले तोकिएको काममा नजाने कर्मचारीको ठाउँमा अन्य कर्मचारी भर्ना गर्ने बताउँदै आफ्नो काम, कर्तव्य र अधिकारप्रति सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
“कर्मचारीले तोकिएको काम मर्यादित, इमान्दार, पारदर्शी र जवादेही भएर गर्नुपर्छ, आफ्नो मात्र सुख, सुविधा खोज्ने कर्मचारी सरकारलाई चाहिएको पनि छैन”,मन्त्री पण्डितले भने ।
“








