काँग्रेस नेता बाँस्तोलाको स्वास्थ्यमा सुधार

काठमाडौँ,साउन ७। नेपाली काँग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको स्वास्थ्यमा सुधार आएको छ । छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।

उपचारमा संलग्न चिकित्सक न्यूरोसर्जन डा प्रत्युष श्रेष्ठले उहाँलाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए ।

आज उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो आएको भएपछि अझै केही दिन उनलाई सघन कक्षमानै राखी निगारानी गर्नुपर्ने अस्पतालले जनाएको छ ।

विराटनगरमा भएको एक कार्यक्रममा सहभागी भइरहँदा २०६९ साल पुस १४ गते मस्तिष्कघात भएपछि नेता बाँस्तोला अहिलेसम्म अचेत अवस्थामा छन् ।

उनकी श्रीमती कुसुम बाँस्तोलाले यसअघि गत चैतमा समस्या भएर अस्पताल ल्याई १५ दिन राखी उपचार गरी घर लगिएको बताए ।

उनलाई सबै खाना पाइपबाटै खुवाउनुपर्छ । सबै खालका लिक्युइड (तरल) बनाएर मात्र खुवाउने गरिएको छ । अहिलेकै अवस्थामा सुधार आइरहेमा सघन कक्षबाट वार्डमा राखी उपचार गर्न सकिने भए पनि प्रत्येक दिन चूनौतिपूर्ण भएकाले अहिले नै केही भन्न हतार हुने डा.श्रेष्ठले बताए ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज बिहान नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला पनि अस्पताल पुगेको उनको निजी सहयोगी राधाकृष्ण काफ्ले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *