मनसुन प्रवेश गरेको १९ दिनपछि देशैभर सक्रिय

काठमाडौं, असार १४ । प्रवेश गरेको १९ दिनपछि मनसुन देशैभर सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि देशैभर मनसुन सक्रिय भएको हो । पूर्वी वायुले पूर्ण रूपमा पश्चिमी वायुलाई विस्थापित गरेपछि देशैभर मनसुन सक्रिय भएको हो । २५ जेठमा पूर्वी नेपालबाट कमजोर रूपमा मनसुन प्रवेश गरेको थियो ।

यसअघि मनसुनी वायु कमजोर हुँदा पश्चिम नेपालमा मनसुन सुरु हुन सकेको थिएन । आवश्यक वर्षा नहुँदा पश्चिम क्षेत्रमा मकै बाली र धानको ब्याडमा असर परेको थियो । देशैभर मनसुन सक्रिय भएपछि किसानलाई राहत पुगेको छ ।

बंगालको खाडीबाट पूर्वी जलवाष्पयुक्त हावा बलियो रूपमा आइरहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘वायुमण्डलको तल्लो र माथिल्लो भागमा जलवाष्प छ,’ उनले भने, ‘जलवाष्पकै कारण तीन दिनसम्म देशैभर वर्षा हुने प्रक्षेपण गरिएको छ ।’

जल तथा मौसम विज्ञान विभाग २४ सै घन्टा सक्रिय
मनसुन सुरु भएसँगै जल तथा मौसम विज्ञान विभाग २४ सै घन्टा सक्रिय भएको छ । मनसुन सुरु भएपछि बाढीपहिरोलगायत प्राकृतिक प्रकोपको जोखिम बढ्ने भएकाले विभाग हरपल सक्रिय रहेको महानिर्देशक ऋषिराम शर्माले बताउनुभयो । ‘सर्वसाधारणलाई मौसमसम्बन्धी जानकारी दिन बिहान र बेलुका ६ बजे विज्ञप्ति नै निकाल्न सुरु गरिएको छ,’ शर्माले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा हेरेरसमेत देशभरको मौसम अवस्थाबारे जानकारी पाउन सक्नेछन् ।’

यसैगरी, बाढीको विषयमा जानकारी दिन टोल फ्री नम्बर ११५५ पनि २४ सै घन्टा खुला गरिएको छ । पैसा नलाग्ने नम्बरमा सर्वसाधारणले बाढीपहिरोको जानकारी लिन सक्ने शर्माले जानकारी दिनुभयो । बाढी आउने सम्भावना देखिए प्रभावित क्षेत्रका सर्वसाधारणलाई एनटिसी, स्काई र एनसेलका मोबाइलमा एसएमएस पठाइने व्यवस्था पनि विभागले गरेको छ ।

औसत वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार यस वर्ष देशभर औसत वर्ष हुनेछ । दक्षिण एसियान क्लाइमेट आउटलुक फोरमले पनि नेपालभर औसत वर्ष हुने प्रक्षेपण गरेको छ । ६ र ७ वैशाखमा भारतको पुनेमा भएको सम्मेलनले नेपालसहित दक्षिण एसियाका देशको मौसम पूर्वानुमान गरेको थियो । दक्षिण एसियन क्लाइमेट आउटलुक फोरमले ३० वर्षसम्मको मौसमलाई आधार बनाई हरेक वर्ष मनसुनको प्रक्षेपण गर्छ ।

कहाँ कति वर्षा भयो ?
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको बुधबार बेलुकाको तथ्यांकअनुसार सबैभन्दा धेरै वर्षा दाङमा ७०.४ मिलिमिटर भएको छ । यस्तै, नेपालगन्जमा ५७, धनगढीमा ३८.५, सुर्खेतमा २६, लुम्लेमा २२.२, दिपायलमा २१.३, जिरीमा १६.५, जोमसोम ११.५ र पोखरामा ८.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै काठमाडौंमा २.५, ओखलढुंगामा ४.४, भैरहवामा ३.५ र ताप्लेजुङमा ६.५ मिलिमिटर वर्षा भएको छ । नयाँपत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =