विश्वकप फुटबल: पोर्चुगल अन्तिम १६ मा प्रवेश, इरान बाहिरियो

काठमाडौं, असार १२ । पोर्चुगल रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा इरानसँग १ – १ गोलको बराबरी खेल्दै पोर्चुगलले समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो ।

मोर्डोभिया एरिनामा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल बराबरीमा रोकिएको हो ।  खेलको ५३ औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्न सकेनन्  ।  रोनाल्डोको प्रहार इरानी किपर एलिरिजाले बचाएका हुन्  ।

इरानविरुद्ध पेनाल्टीमा गोल गर्न नसके पछि गोल्डेनबुटका दाबेदार रोनाल्डोले इंग्ल्यान्डको ह्यारी केनसँग ५ – ५ गोलको बराबरी गर्ने मौका गुमाएका छन् । रोनाल्डोले अहिलेसम्म ४ गोल गरेका छन्  ।  जारी विश्वकपमा पेनाल्टीमा गोल गर्न नसके रोनाल्डो दोस्रो स्टार खेलाडी हुन्  ।  यसअघि अर्जेन्टिनाका लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन्  ।

रोनाल्डो पेनाल्टीमा चुक्नु अघि रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए थिए । तर, खेलको इन्जुरी समयमा इरानका करिम अन्सारीफ्रेडले पेनाल्टीमा गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए ।

यो बराबरीपछि पोर्चुगलले ५ अंक जोड्न सफल भयो । पोर्चुगलसँग समान ५ अंक जोड्न सफल भएको स्पेन समूह विजेता बन्यो । पोर्चुगलसँग अंक खोस्न सफल इरान भने समूह चरणबाट बाहिरिएको छ । यस्तै यो समूहबाट मोरक्को पनि समूह चरणबाट बाहिरिएको छ ।

अब पोर्चुगलले अन्तिम १६ मा उरुग्वे र स्पेनले रुससँग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + twenty =