तिम्रो नाममा एउटा कविता…छैन !

तिम्रो नाममा एउटा कविता

अर्जुन यावा

धेरैदिनदेखि
तिम्रो नाममा एउटा कविता लेख्न खोजेको
तर अहँ…!
खै किन हो लेख्न सकिरहेको छुइन।
मलाई थाहा छ
मैले हरेक दिन लिइरहेको श्वास-प्रस्वासमा
तिमी छौँ।
थाहा छ
मेरो शरीरका
अङ्ग-प्रत्याङ्गहरूमा यदि हेर्नु हो भने
तिम्रै रूप, रङ्ग र नामहरू देखिनेछन्।

त्यसैले त
म बाँचिरहेको छु
तिमीसँगै
हरेक दिन हरेक रातहरू
अनि
अहिले पनि म सम्झिरहेछु
सानामा पनि म हिँड्ने गर्थेँ तिमीसँगै
समाएर तिम्रै हात र ती औंलाहरू।

तिम्रा हरेक साथहरू
तिम्रा हातका ती औंलाहरू
तिमीसँगै हिँड़ेका हरेक पाइलाहरू
तिमीसितका हरेक क्षण र पलहरू
सप्पै छन् स्मृतिपटमा,
खै!
किन हो तर
तिमीलाई नै सम्झेर
एउटा कवितासम्म लेख्न सकिरहेको छुइन।

हो आमा !
तिम्रो नाममा
एउटा कवितासम्म लेख्न सकिरहेको छुइन।
(11 मार्चमा अचानक बित्नु भएकी आमालाई समर्पित)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *