३५ प्रतिशत धान रोपाइँ


“
सप्तरी, ७ साउन । सप्तरी जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाइँ भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार आकाशे पानीको अभावमा रोपाइँ कम भएको बताइएको छ । धानको रोपाइँ अहिलेसम्म पूरा हुनुपर्ने भए पनि पानीको अभावमा रोपाइँ हुन नसकेको सो कार्यालयले जनाएको छ ।
खास गरी सप्तरीका पूर्वी तथा उत्तरी भेगमा नहरबाट पानी उपलब्ध भएका क्षेत्रमा र अन्यमा बोरिङबाट धान रोपाइँ भएको हो । जिल्लामा ७० हजार हेक्टर जमिनमा धान उत्पादन हुने भए पनि बाढीपहिरो तथा वर्षात्को पानीको अभावले धान रोपाइँ तथा धान उत्पादनमा समस्या रहेको कार्यालयका वरिष्ठ कृषि अधिकृत भगीरथ यादवले बताए । जिल्लामा नहरबाट ४५ प्रतिशत धानको रोपाइँ हुने गरेको छ ।
यसैबिच चार हप्ता अगाडि सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट नष्ट भएको धानबालीको स्थानमा पुनः धान रोपाइँ सुरु गरिएको कृषि कार्यालयका प्राविधिकको भनाइ छ । अर्कातिर गुणस्तरीय धानको बीउ र मलको समेत समस्या हुँदै आएको किसानको गुनासो छ । रासस
“
