विश्वकप २०१८ : पोर्चुगलविरुद्ध मोरक्कोले इतिहास दोहोर्याउला कि मेट्ला !

“
काठमाडाैं, असार ६ । पहिलो खेलमै स्पेन जस्तो बलियो प्रतिस्पर्धीसँग उत्कृष्ट खेल प्रदर्शन गरेको पोर्चुगल आज उत्साहका साथ मैदानमा हुनेछ । उसले त्यो खेलको तुलनामा मोरक्को कमजोर प्रतिष्पर्धी आँकेको छ ।
तर इरानसँग कठिन संघर्ष गरेर पनि पराजित भएको मोरक्कोसँग चाँडै विदा हुन आजको खेल जित्नुको विकल्प छैन । हैन भने आजै साँझ उसले एक खेल अघिनै समूह चरणबाटै घर घर फर्किनु पर्ने निश्चित हुन्छ ।
पहिलो खेलमा कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्पेनलाई ३–३ को बराबरीमा रोकेको पोर्चुगल यो विश्वकपमा पहिलो जीतको खोजीमा छ । मोरक्को भने पहिलो खेलको हारले केही कमजोर मनोबलमा पक्कै छ । तर पोर्चुगलका लागि चुनौती बन्ने क्षमता भने उसँग छ ।
समूह बी मा रहेको पोर्चुगलको टिमका सबै खेलाडी अहिले फिट छन् । तर मोरक्कोको टिममा भने चोटले दुःख दिएको छ । राइट–ब्याक नोर्दिन अमराबात इरानसँगको खेलमा टाउको ठोक्किएर कनकसन भएका कारण मैदानमा हुने छैनन् । यस्तै अर्का नियमित राइट–ब्याक नाबिल डिरार पनि घुँडाको चोटका कारण खेल्न नसक्ने अवस्थामा छन् ।
चौथो पटक विश्वकप खेलिरहेका रोनाल्डोले अघिल्ला तीन विश्वकपमा गरेको जति गोल यो विश्वकपको पहिलो खेलमै गरे । यसले गर्दा समग्र पोर्चुगिज टिममा उनीमाथिको भरोसा र विश्वास थप बलियो बनेको छ । यसले समूहको दोस्रो खेलमा उसलाई थप बलियो रुपमा प्रस्तुत हुने मनोबल दिएको छ ।
२० वर्षपछि विश्वकपमा फर्किएको मोरक्कोका लागि आफूलाई प्रमाणित गर्ने चुनौती छ ।
हेड–टू–हेड
पोर्चुगल र मोरक्कोबिच यसअघि एक पटक मात्रै भेट भएको छ । त्यो पनि विश्वकपमा । यी दुई टोलीबिच सन् १९८६ को विश्वकपमा भेट भएको थियो । त्यो बेलाको नतिजा मोरक्कोको पक्षमा थियो । उसले पोर्चुगललाई ३–१ ले निराश पारेको थियो । यो जित उसको विश्वकपमा पहिलो जित थियो ।
मोरक्कोले विश्वकपका १४ खेलमा दुई खेलमा मात्रै जित निकालेको छ । उसका लागि बुधबारको खेल ३२ वर्षअघिको इतिहास दोहोर्याउने मौकाको रुपमा पनि हेरिएको छ ।
पोर्चुगल
विश्वकपमा पोर्चुगल पछिल्ला १६ वर्षमा युरोप बाहिरका देशसँग पराजित भएको छैन । यो १६ वर्षमा विश्वकपमा युरोप बाहिरका देशसँग भएका ८ खेलमा उसले पाँच खेलमा जित निकालेको छ भने तीन खेलमा बराबरी भएको छ । उसले पछिल्लो पटक युरोप बाहिरको देशसँग हार बेहोरेको भनेको सन् २००२ मा हो । त्यो बेला दक्षिण कोरियाले पोर्चुगललाई १–० ले हराएको थियो ।
यो विश्वकपमा स्पेनसँगको पहिलो खेलमा ह्याट्रिक गरेका रोनाल्डो चार विश्वकपमा गोल गर्ने चौथो खेलाडी बने । यसअघि यस्तो करामत उवे सीलर, पेले र मिरोस्लाभ क्लोसले मात्रै गरेका थिए ।
स्पेनसँगको खेलमा रोनाल्डोले गरेको ह्याट्रिक उनको खेल जीवनको ५१ तथा विश्वकप इतिहासको पनि ५१ ह्याट्रिक नै थियो ।
३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका रोनाल्डो विश्वकपमा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडी बने ।
उनले राष्ट्रिय टिमबाट ८४ गोल गरिसकेका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा रहेका फेरिन्क पुस्काससँग बराबरी गरेका छन् । उनीहरु भन्दा अघि १०९ गोल गरेका इरानका अली दाएई मात्रै छन् ।
यो विश्वकप अघिसम्म रोनाल्डोले तीन विश्वकपका १३ खेलमा मात्रै तीन गोल गरेका थिए । यसरी हेर्दा दुई वर्षअघिको युरोकप विजेता पोर्चुगल यसपटक विश्वविजेता बन्नका लागि अरु बलिया टिमलाई चुनौती दिन आए जस्तो देखिन्छ र यसको बलियो आधार रोनाल्डो बन्न सक्छन् । विश्व बरियतामा पोर्चुगल चौथो स्थानमा छ ।
मोरक्को
मोरक्को सन् १९९८ पछि अर्थात दुई दशकमा विश्वकपमा फर्किएको हो । पाँचौँ पटक विश्वकप खेलिरहेको मोरक्कोले पहिलो खेलमा बलमा नियन्त्रण बढी हुँदाहुँदै पनि आत्मघाती गोलका कारण इरानसँग पराजित भयो ।
विश्वकपमा मोरक्कोले पाएको सबैभन्दा ठूलो सफलता भनेको अन्तिम १६ सम्मको यात्रा हो । सन् १९८६ मा मोरक्कोले समूह चरण पार गरेको थियो । यहि वर्ष हो उसले विश्वकपमा पहिलो जित दर्ता गरेको र त्यो पनि पोर्चुगलमाथि ।
३२ वर्षअघि र अहिले दुवै टिमको अवस्था फेरिएको छ । तर मोरक्कोले यो खेलमा पोर्चुगललाई कडा चुनौती दिनेछ । विश्व बरियतामा मोरक्को ४१ औँ स्थानमा छ ।
“








