नर्सिङ काउन्सिलमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

खगेन्द्र अधिकारी, काठमाडौँ । नर्सिङ कलेजहरुलाई सिट सङ्ख्या वितरणका नेपाल नर्सिङ काउन्सिलका पदाधिकारीहरुको मिलेमतो रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नर्सिङ काउन्सिलका अनियमितताहरु छानबिन गरियोस् भन्दै उजुरी परेको हो ।
केही महिनाअघि काउन्सिलले देशभरका नर्सिङ कलेजहरुको अनुगमन गर्दा पूर्वाधारै नभएका कलेजलाई समेत सिट दिएको, विगत ५ वर्षदेखि आर्थिक लेनदेनमा सिट वितरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, स्वास्थ्य मन्त्रालयमा समेत उजुरी परेको हो ।

सुनसरी इनरुवाका दुई व्यक्तिले काउन्सिलका पदाधिकारी विरुद्ध उजुरी गरेका हुन् । अख्तियारमा दर्ता गराईएको उजुरीको दर्ता नं. ६७४ रहेको छ भने, स्वास्थ्य मन्त्रालयमा गराईएको दर्ता नं. ४०९ रहेको छ ।
उजुरीमा नयाँ नर्सिङ कलेज खोल्न तथा सिट सङ्ख्या थप्न निजी संस्थाहरूलाई मान्यता र प्रोत्साहन गरेको सम्बन्धमा काउन्सिलको बोर्ड बैठकले गरेका निर्णयहरू र सम्बन्धनका सम्पूर्ण फायलहरु अनुसन्धान गरिनुपर्ने बताइएको छ । यसै गरी नर्सिङ काउन्सिलका पदाधिकारीहरुले निजी नर्सिङ कलेजका सञ्चालनहरुसँग आफैँ सम्पर्क गरी अनुगमनमा जाने गरेकोले उनीहरूको कल डिटेल्स, निजहरुको बैङ्क खाता र आफन्तका बैङ्क खाता समेत अनुसन्धान गर्न भनिएको छ ।

यसै गरी नर्सिङ काउन्सिलका वर्तमान अध्यक्ष चन्द्रकला शर्मा, रजिष्ट्रार लक्ष्मी राई र उनीहरूसँग मिलेमतो गर्ने काउन्सिलका पदाधिकारीहरुको समेत सहभागिता रहेको निर्णय पुस्तिका तत्काल नियन्त्रणमा लिनुपर्ने भनिएको छ ।
उजुरी कर्ताले नर्सिङका पदाधिकारीलाई काउन्सिलको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गर्ने गरेको आरोप समेत छ ।
केही साताअघि काउन्सिलले अनुगमन टोली बनाएर पूर्वका विभिन्न नर्सिङ कलेजहरुमा अनुगमन गरेको थियो । सो अनुगमनमा काउन्सिलकी रजिष्ट्रार लक्ष्मी राई लगायतले झापा मोरङ र सुनसरीका केही निजी कलेजहरु अनुगमन गरेका थिए । उक्त अनुगमनमा पदाधिकारीले कलेज सञ्चालकसँग वार्गेनिङ गरेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । काउन्सिलका पदाधिकारीले भने समाचारमा भनेजस्तो कुनै वार्गेनिङ नभएको जिकिर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले छानबिन गर्ने
नर्सिङ काउन्सिलका विषयमा परेको उजुरीलाई गम्भिरता पूर्वक हेर्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । उनले उजुरी परेको स्विकार्दै सत्य तथ्य पत्ता लगाउन समिति गठन गरी अनुसन्धान गर्ने बताए । ‘नर्सिङ काउन्सिलका पदाधिकारीका विषयमा उजुरी परेको छ, हामी यो विषयलाई आन्तरिक रूपमा छानबिन गर्नेछौँ ।’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *