‘यही हो नमूना सार्वजनिक सेवा प्रसारणमा जाने सरकारको ?’- रिजाल

काठमाडौँ, जेठ, ३१ । नेपाली कांग्रेसले सार्वजनिक सेवा प्रसारणमा सरकार हस्तक्षेपकारी बन्दै गएको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै सांसद मिनेन्द्र रिजालले सम्पत्ति विवरण पत्रकारले देखाएकै भरमा कार्यक्रम बन्द गरिएकोप्रति अपत्ति जनाए। उनले भने, ‘यही हो नमूना सार्वजनिक सेवा प्रसारणमा जाने सरकारको ?’

सरकारलाई पनि नियम कानून र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै रिजालले सरकारले नियम कानून र संविधानको पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सरकारका सबै निकायबाट धम्क्याउने, थर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाइए प्रतिपक्षी दलले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी नै दिए।

संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउँदा अग्रपंक्तिमा बसेकाहरूले नै अहिले सोही व्यवस्थाको गलत व्याख्या गर्ने गरेको भन्दै उनले सभामुखको गम्भीर ध्यानाकर्षण गराए।

मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाँभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा उनले गम्भीर आपत्ति जनाए। सबै प्रतिष्ठानले उदाहरणीय काम गरिरहेको भन्दै उनले प्रज्ञा प्रतिष्ठानको अपमान गर्ने असंगति पूर्ण काम नहोस् भनी पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए।

उनले भने, ‘ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आँखा लाग्यो भन्ने कुरा आएको छ, जग्गामा आँखा लाग्या हो कि के हो ? प्रज्ञालाई यसरी आँखा लगाउन पाईन्छ ? प्रज्ञालाई यसरी अपमान गर्न पाईदैन। प्रज्ञा धेरै मेहेनत साथ यहाँ पुगेको छ। २० लाख पर्यटक ल्याउँदा के देखाउने ? ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा लिएर २० तले भवन बनाउने व्यापारिक प्रयोजनका लागि ? अनि त्यसैका लागि पर्यटक ल्याउने ? संगति त हुनुपर्यो नि मन्त्रालयका कामहरूमा । यस्ता असंगतिपूर्ण कामहरू नहोस्, अनुरोध गर्न चाहन्छु।’

उनले पर्यटन मन्त्रालयले वेबसाइटमा तस्वीर थप्ने बाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरि आउने शिर्षकमा राखिएको १० करोड बजेट कटौतीको माग गरे।

उनले २० लाख पर्यटक भित्र्याउने भनिए पनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *