‘कम्युनिष्टहरु मजदुरलाई टेकेर सत्तामा पुग्ने मात्रै हुन्’- आचार्य

काठमाडौँ, जेठ २९ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन मंगलबारबाट सुरु भएको छ । बिहिबारसम्म चल्ने महाधिवेशनमा प्यानल बनाएरै उम्मेद्वारी घोषणा गरेका छन् ।

केहिदिन अघि पुष्कर आचार्य समूहले पदाधिकारी सहित प्यानलको घोषणा गरिसकेको छ । आचार्यको समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्रीद्वय कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र नेता शेखर कोइराला लगायतको समर्थन् छ ।

आइतबार बहालवाला अध्यक्ष खिलनाथ दाहालले पनि आफ्नो प्यानलको घोषणा गरे । दाहालको समुहलाई कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ ।

आचार्य यसअघि संविधान सभामा सभाषद समेत भैसकेका थिए । मजदुरका पछिल्ला समस्या र ट्रेड युनियनको भूमिकाका विषयमा पुष्कर आचार्यसँग हामीले कुराकानी गरेका छौं ।

तपाई ट्रेड युनियनको अध्यक्षमा दाबि गर्दै हुनुहुन्छ । यतिबेला मजदुरहरुको क्षेत्रमा के समस्या देख्नु हुन्छ ?

नेपालको ट्रेड युनियनको आन्दोलन निस्तेज भएको छ । नेपालको ट्रेड युनियनको आन्दोलन पार्टीहरुको पुच्छर भएको छ । त्यो दुःखद कुरा हो । यो पाँच वर्ष भित्रमा ट्रेड युनियनको आन्दोलन लगायतका उपलब्धिका लागि हामीले धेरै काम गर्न सक्थ्यौं । तर ट्रेड युनियन कांग्रेसको नेतृत्व बोलेन र अरु ट्रेड युनियनको नेतृत्व पनि बोलेनन् ।

अहिलेसम्म नेपालमा मजदुरहरुको हकहितका लागि जुन नेपाली कांग्रेसकै नेतृत्वमा काम भईरहेको थियो हामी चुक्यौं यो पाँच वर्षमा । संविधान निर्माणका चरणमा महिला आन्दोलन भयो, जनजाति आन्दोलन भयो तर वर्गिय आन्दोलन कमजोर भएर गयो ।

ट्रेड युनियन कांग्रेसले त्यो नेतृत्व लिनु पर्ने हामी चुक्यौं त्यस मामिलामा । यो ५ वर्षमा हामीले हाम्रो अन्तराष्ट्रिय छवि पनि विगार्यौँ  । नेपालको भुत्ते ट्रेड युनियनलाई जगाउन आवश्यक छ भन्ने हाम्रो अभियान हो । मजदुरका नाममा कम्युनिष्टहरु आज सत्तामा पुगेका छन् ।

आज कांग्रेसले स्थापित गराएका आधारभूत कुराहरुलाई पनि रोक लगाइन्छ कि भन्ने हामीलाई त्रास छ । संविधान कार्यन्वयन गर्ने दिशामा अझै बढि अवरोध आउँछ कि भन्ने हामीलाई डर छ । त्यसका लागि शसक्त जुझारु संगठन बनाउनु पर्ने आवश्यकता मैले देखेको छु । अहिलेका कम्युनिष्टहरुले आस्थाका आधारमा पेल्ने, अप्ठेरोमा पार्ने गरिरहेका छन् यसका विरुद्ध लड्ने संगठन चाहिएको छ ।

अनि तपाईंहरु पार्टी भित्रै ट्रेड युनियनमा खेमा बनाएर चुनाव लड्दै हुनुहुन्छ पार्टी नेतृत्वको लाइन अनुसार । भोलिका दिनमा चाहिँ पार्टीको पिछा लाग्नु हुन्न भन्ने आधार के त ?

हामीलाई विगतको कुराहरु याद छ । गिरिजा प्रसाद कोईराला कांग्रेसको सभापति हुँदा र प्रधानमन्त्री हुँदा पनि हामीले मजदुरका पक्षमा लडाईं लड्न छाडेनौं । त्यतिबेला पनि मजदुरको अधिकार खोसिने गरि उनीहरुले पाइरहेका सुविधा खोसिने गरि कानुन ल्याइएको थियो । अर्थमन्त्री महेश आचार्य हुनुहुन्थ्यो उहाँलाई झुकायौं । त्यतिबेला गिरिजा प्रसाद कोइरालाले खुन दिन्छौं भन्दा पनि हामी पछि हटेनौं मजदुरको हितका लागि ।

तपाईंलाई याद होला त्यति बेला श्रम मन्त्रीको पुत्ला जलाएर हिँडेका छौं । हामी कुन पार्टीको सरकार छ भनेर हेर्दैनौं । हामीलाई थाहा छ सरकारले मजदुरको पक्षमा काम गर्दैन उहिसँग हाम्रो लडाईँ हुन्छ । त्यो हामीले निरन्तर गरिरहनु पर्छ ।

हामीलाई थाहा छ कम्युनिष्टहरु मजदुरलाई टेकेर सत्तामा पुग्ने मात्रै हुन् । उनीहरुले हाम्रा लागि केहि पनि गर्दैनन् । हामी विस्वस्त छौं कांग्रेसले नै मजदुरहरुको हितमा काम गरेको थियो हिजो पनि र भोलि पनि गर्छ ।अन्तरिम संविधान पनि गिरिजा प्रसाद कोइरालाकै कारण बनेको थियो । तर अब उहाँ जस्तो मजदुरको पक्षमा काम गर्ने नेतृत्व छैनन् ।

कांग्रेसभित्र पनि मजदुरको पक्षमा काम गर्ने र विपक्षमा लाग्ने नेता हुनुहुन्छ । हामी मजदुरको पक्षमा काम गर्ने नेताको पक्षमा लाग्दै मजदुर विरोधी गतिविधि नगर्न कांग्रेसलाई पनि सहि बाटोमा डोर्याउन हामी लाग्छौं । मजदुरको पक्षमा काँग्रेसलाई बनाउने दायीत्व पनि हाम्रो हो त्यसैले दवाव पनि दिन्छौं र सहयोग पनि गर्छौं । हाम्रो टिम त्यहि दिशामा काम गर्न अग्रसर छ ।

तपाईं कै चाहिँ उम्मेद्वारी किन त ?

हामीले मजदुरहरुको हक अधिकार अझै सुनिश्चित गर्न आवश्यक छ । संविधानले तोकेको अधिकारहरुलाई कार्यान्वयन गराउन सरकारलाई दवाव सिर्जना गर्न जरुरी छ । अहिलेको कम्युनिष्ट सरकारको जुन रवैया छ , तानाशाही प्रवृति जुन आतंकको राज्य स्थापित गर्ने दिशामा अगाडी बढिरहेका छन्, त्यसको विरुद्ध पनि हामी लाग्छौं ।

हामी हाम्रा साथीहरुलार्इृ विचारको आधारमा आस्थाको आधारमा अन्याय गर्छ भने त्यसको विरोधमा सरकारमा जान्छौं । संसदमा पनि कांग्रेसका नेताहरुलार्इृ यस विषयमा आवाज उठाउन आग्रह गर्छौं र सडक तताउने अभियानमा पनि अब कांग्रेसलाई हामी लग्छौं । र मजदुरहरुको पक्षमा सोच्न सरकारलाई बाध्य बनाउँछौं ।

वैदेशिक रोजगारीमा रहेका मजदुरहरुको परिवारको पक्षमा काम गर्न दवाव दिन्छौं । असंगठित क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षाको दायरामा समेट्न हाम्रो अभियानले काम गर्छ । अन्तर्राष्ट्रिय साख गिरेको काँग्रेसको साख जोगाउने अभियानमा पनि हाम्रो टिमले काम गर्छ ।

सांसद भैसकेको मान्छे किन ट्रेड युनियनमा फेरि ?

पहिले सांसद पनि म ट्रेड युनियनमै लागेकाले भएको हो । तत्कालिन सभापति सुशिल कोइरालाले मजदुरहरुको तर्फबाट प्रतिनिधित्व गर्न मलाई त्यहाँ पठाउनु भएको थियो । उहाँले हामीलाई बचन दिनु भएको थियो मजदुरहरुको प्रतिनिधित्व गराउँछु भनेर ।

त्यहि बेला उहाँले हाम्रा सदस्य रामजी कुँवरलाई वैकल्पिक केन्द्रीय सदस्यमा पनि मनोनित गर्नु भएको थियो । त्यसैले म सांसद पनि मजदुरकै हितमा काम गरेको कारणले भएको हो ।

हिजो पनि आज पनि म मजदुरहरुकै साथमा काम गर्छु । संसदमा पनि मैले जति काम गरें । मजदुरहरुकै हक हितका मुद्धा उठाएँ । कानुनहरु निर्माण गर्ने क्रममा मैले सक्रिय भुमिका निर्वाह गरें । मजदुरहरुलाइृ समस्या परेका बेलामा त्यहाँ पनि आवाज उठाउने काम गरेको छु ।

२०४६ सालपछि पुर्नस्थापित नेपालको ट्रेड युनियन आन्दोलन जुन थियो त्यसैमा समाहित भएर निरन्तर रुपमा आजसम्म काम गरेको छु । किन भन्ने कुरै छैन, सांसद मेरो लागि गौण कुरा भैसकेको छ सांसद हुँदा पनि मजदुरकै लागि काम गरेको छु र नहुँदा पनि ।

सांसद हुँदा खेरि मजदुरको पक्षमा के कस्ता काम गर्नुभयो त ?

कांग्रेसले मलाई त्यहाँ पठाएकाले उप्रतिको प्रतिवद्धताका साथ त्यहाँ गएँ । तर मेरो पूर्ण प्रतिवद्धता मजदुरको हितमा थियो र त्यो काम मैले निर्भिकतापुर्वक गरें । संविधान भित्र मजदुरका धेरै कुरा स्थापित भएका छन् । रोजगारीका अधिकारहरु स्थापित भएका छन् । उनीहरुका मौलिक हकका कुराहरु स्थापित भएका छन् ।

महिलाहरुका अधिकार स्थापित भएका छन् । संगठन गर्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ । त्यसमा हामीले गर्व गर्नु पर्छ । तर सँगसँगै केहि अप्ठेरा पाटाहरु पनि भए ।

संविधान निर्माण गर्ने क्रममा अन्तरिम संविधानमा गरिएको  श्रम आयोगको व्यवस्था हामीले पुर्नस्थापित गर्न सकेनौं । एउटा संसदले मात्रै त्यो गर्न बडा कठिन हुने रहेछ पार्टीका नेताले नै त्यो सम्पूर्ण संगठनले नै त्यो गर्ने अवस्था थियो संविधान निर्माण गर्ने क्रममा ।

नेपालको आन्दोलनमा श्रमिकको अधिकार स्थापित गर्छु भन्ने कम्युनिष्टहरु पनि त्यहाँ थिए । समाजवाद स्थापित गर्छु भन्ने कांग्रेसका साथीहरु त्यहाँ हुनु हुन्थ्यो । त्यसका बावजुद पनि हामीले धेरै पटक आवाज उठाउँदा पनि श्रम आयोगको व्यवस्था हुन सकेन ।

मैले त्यहाँ भित्र नेपाली कांग्रेसकै नेताहरुलाई अनुरोध गरें । तपाईहरुले यो संशोधन प्रस्ताव त्यहाँ राखिदिनुस् म एउटा सांसदले राखें भने पारित हुन गाह्रो हुन्छ भनेर भनें । र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धेरै संशोधन राखि रहँदा यो पनि राख्नु भएको थियो । तर पार्टीले हामीले नमान्दा नमान्दै पनि फिर्ता गर्न वाध्य बनायो ।

त्यसैले यो संघर्ष निरन्तर गरिरहनु पर्नेछ । पार्टी भित्र पनि संघर्ष गर्नु पर्यो र समग्र मजदुरहरुको हितका लागि अगाडि बढ्नु पर्ने अहिलेको दायीत्व छ । श्रम ऐन र सामाजिक सुरक्षा ऐन पारित भएको छ । अरु धेरै काम पनि त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =