वायोमेट्रिकका ३८ स्वास्थ्य व्यवसायी धरौटीमा छुटे

काठमाडौँ, जेठ २८ । ठगी गरेको आरोपमा पक्राउ परेका ३८ जना स्वास्थ्य व्यवसायी धरौटीमा छुटेका छन्  । काठमाडौँ प्रहरीले ३४ र ललितपुर प्रहरीले ४ जना स्वास्थ्य व्यवसायीलाई गत जेठ ६ गते पक्राउ गरेर ठगी मुद्दा चलाएको थियो ।

श्रममन्त्री गोकर्ण विष्टले मलेसियामा स्वास्थ्य परीक्षण गर्दै आएका स्वास्थ्य व्यवसायीको सिन्डिकेट तोड्ने निर्णय गरेको चार दिनपछि उनीहरु पक्राउ परेका थिए ।

स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको भन्दै प्रहरीले ४८ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये १० जना कर्मचारीलार्ई सोधपुछ पछि छाडिएको थियो ।

सृजना मेडिकल सेन्टरका सञ्चालक १५ लाख, सुपर हेल्थ केयर सेन्टरका सञ्चालक १० लाख, डाइनेस्टिक मेडिकल सेन्टरका सञ्चालक ७ लाख रुपैयाँ धरौटी बुझाएर छुटेको काठमाडौँ प्रहरीले जनाएको छ । अरु पनि यो भन्दा कम धरौटी बुझाएर छुटेका छन् ।

ललितपुर प्रहरीले मुद्दा चलाएका चार जना पनि आइतबार नै धरौटीमा छुटेका छन् । ललितपुर प्रहरी प्रवक्ता नरेन्द्र चन्दका अनुसार सुवा प्याथोलोजि एण्ड क्लिनिकका शेरबहादुर लिम्वु ७ लाख रुपैयाँ, उपत्यका प्याथोलोजी क्लिनिकका मन्जु अधिकारी १० लाख रुपैयाँ र सुनापाथी पोलिक्लिनिक एण्ड हेल्थ सेन्टरका लक्ष्मण सुवा र बलराम रेग्मी जनही ११ लाख रुपैयाँका दरले धरौटी बुझाएर छुटेका हुन् ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न वायोमेट्रिकमा आवद्ध ३९ वटा स्वास्थ्य संस्थाले मात्रै पाउने व्यवस्था थियो । सरकारले त्यो व्यवस्था खारेज गरेपछि मलेसिया कामदार जान बन्द भएको छ ।

नेपाल सरकारले श्रम मन्त्रालयमा सूचिकृत भएका २ सय ३५ वटै स्वास्थ्य संस्थालाई मान्यता दिन अनुरोध गरेपनि मलेसियाले हालसम्म कार्यान्वयन गरेको छैन ।

यस्तै साउदी, ओमन र बहराइन जानेको स्वास्थ्य परीक्षणमा पनि गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाको सिन्डिकेट कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =