गर्मीले धनगढीको जनजिवन कष्टकर बन्दै


विष्णु जोशी
साउन ६, धनगढी । दिन प्रति दिनको चर्को गर्मीमा विद्युतको आपूर्ति हुन नसके पछि धनगढीका बासिन्दाको जनजिवन कष्टकर बन्दै गएको छ । गर्मीले जनजीवन अत्यन्त कष्टकर बनिरहेका बेला तीन चार दिनदेखि अनियमित रूपमा विद्युत् सेवा बन्द हुने गरेका कारण झनै समस्या भएको हो ।
जेठसम्म दैनिक ७ घण्टा लोडसेडिङ खेपिरहेका धनगढीका बासिन्दालाई त्यसपछि लोडसेडिङ मुक्तको हल्लासँगै केही घण्टा घटेको लोडसेडिङले राहत प¥याएको थियो । तर पुनः गर्मीसँगै लोड सेडिङ् बढ्दा धनगढीलाई पुरानै अवस्थामा परिणत गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले भने गर्मीसँगै झन्डै ८.५ मेगावाट विद्युत् कम भएको बताएको छ । प्राधिकरणले माग अनुसार आपूर्ति नहुँदा लो भोल्टेजमा समस्या आएको बताएको छ । गत बुधवार देखि अनियमित आपूर्तिको कम गर्न माग राख्दै धनगढी वितरण केन्द्रको कार्यालयमा उपभोक्ताहरु गएका छन् । उनीहरूले तत्काल विद्युत् आपूर्तिमा नियमितता गर्न आग्रह गरेका छन् । प्राधिकरणले धनगढी क्षेत्रमा हुने लोडसेडिङ तालीका समेत नल्याएको धनगढीका स्थानीयहरुले बताए ।
प्राधिकरणले भने गत वर्षकै समय तालिका अनुसार लोडसेडिङ भइरहेको बताउँदै आएको छ । तर, धनगढीमा अहिलेसम्म कुन समय विद्युत् आउने र कुन समय जाने निश्चित गरिएको छैन । प्राधिकरणसँग रहेको तालिका अनुसार राती ११ बजेपछि धनगढीका कुनै पनि क्षेत्रमा लोडसेडिङ भएको छैन ।
प्राधिकरणले जाडो महिनामा ३९.८ मेगावाट विद्युत् टनकपुरबाट ल्याउने गरेको छ भने, गर्मीयाममा टनकपुरको ट्रान्सफर्मरले लोड लिन नसक्दा २७ मेगावाट मात्रै विद्युत् आइरहेको जनाएको छ । ४३ मेगावाट विद्युतले सिङगो सुदुरपश्चिममा विद्युतको नियमित आपूर्ति गर्न सकिने भए पनि सुदुरपश्चिमलाई भारतको टनकपुरको भरमा छोडिएको छ ।
माग बढी भए पनि आपूर्ति कम हुनेहुँदा कम क्षमताका ट्रान्सफर्मर बेला–बेला विग्रिने गरेको छ । ट्रान्सफर्मर मर्मतको नाममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुने समेत एन एच पिसी टनकपुरले दाबी गरेको छ ।
कम भोल्टेजका कारण पङ्खा, कुलर, एसी लगायतका विद्युतीय उपकरण चल्न नसकिरहेको उपभोक्ताको गुनासो रहेको छ । विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सत्यनारायण महतोले माग अनुसार ८ मेगावाट विद्युत् पावर थप गरिए मात्रै विद्युतको नियमित आपूर्ति गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *