दोस्रो चरणको भर्ना अभियान शुरु गर्ने मन्त्री परिषद्को निर्णय

“
काठमाडौ, जेठ २१ । पहिलो चरणको भर्ना अभियानको सफलता पछि सरकारले दोस्रो चरणको भर्ना अभियान शुरु गर्ने भएको छ ।
आइतबार बसेको मन्त्री परिषदको बैंठकले दोस्रो चरणको भर्ना अभियान शुरु गर्ने निर्णय गरेको हो ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालय ल्याउन नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई विद्यालय ल्याउन र विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियानलाई सफल बनाउनको निम्ती आजको मन्त्री परिषद बैंठकमा दोस्रो चरणको भर्ना अभियान सञ्चालनको प्रस्ताव गरेका छन् ।
विद्यालय बाहिर रहेका ३ लाख १३ हजार २ सय ९८ मध्ये पहिलो चरणको भर्ना अभियानको क्रममा २ लाख ५६ हजार ५ सय ५६ विद्यार्थी विद्यालय आईसकेका छन ।
विद्यालय आउन बाँकी रहेका ५९ हजार ७ सय ३३ बालबालिकालाई पनि विद्यालयमा ल्याउने उद्येश्यले दोस्रो चरणको भर्ना अभियान शुरु गरिएको हो ।
“एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाईमा स्थायित्व” भन्ने नाराका साथ शुरु गरिएको पहिलो चरणको अभियानमा राजनीतिज्ञ, जनप्रतिनिधि, कलाकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक लगायत राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
“








