सुनसरीको धरानमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइयो

धरान, जेठ २१ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी सुनसरीको धरानमा पनि मनाइएको छ ।

१३ औं छुवाछुत मुक्त राष्ट्रिय दिवस आज (सोमबार) धरान उपमहानगरपालिका, दलित विकास समितिको आयोजनामा उपमहानगरपालिका कार्यालयबाट चतरालाई, छाताचौक, महेन्द्रपथ हुँदै भानुचौकमा कोण सभा गरी सम्पन्न भएको छ ।

दलित विकास समितिका सदस्य तथा छुवाछुत मुक्त राष्ट्रिय दिवस कार्यक्रमका संयोजक धनबहादुर धमालको सभापतित्वमा दलित विकास समितिका संयोजक किशोर परियारले स्वागत मन्तव्य राखेका थिए भने धरान उपमहानगरपालिका उपप्रमुख मञ्जु भण्डारीले धरान नगर सरकारको तर्फबाट सम्बोधन गरेकी थिइन् ।

र्याली (प्रभातफेरी) तथा सभामा १ नम्बर प्रदेश सांसद उमिता बराईली, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे, दलित सेवा संघका केन्द्रीय सहअध्यक्ष रमेश गजमेर, दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदाम, परियार सेवा समाजका केन्द्रीय सदस्य लक्ष्मण दास, विश्वकर्मा समाज नेपाल १ नम्बर प्रदेशका संयोजक लालबहादुर सिन्च्यूरी, महिला सञ्जाल धरानकी अध्यक्ष शीला बज्राचार्य लगायत धरान उपमहानगरपालिकाका १ देखि २० नम्बर वडाका जनप्रतिनिधिहरु, नेपाली काँग्रेस, राप्रपा, नेकपा (नेकपा), दलित सेवा संघ सुनसरी जिल्ला समिति, धरान नगर समिति, परियार सेवा समाज सुनसरी जिल्ला समिति तथा धरान नगर समिति, उत्पीडित महिला सशक्तिकरण अभियान, दलित महिला सञ्जाल धरान, विश्वकर्मा कल्याण सेवा समिति धरान, मिजार सेवा समाज, मरिक (डोम) सामुदायिक उत्थान मञ्च, दलित विकास समिति धरान १७ सरस्वती टोल कमिटी लगायत विभिन्न ३५ वटा संस्थाहरुको आ आफ्नो ब्यानरसहितको सहभागीता रहेको थियो ।

नौमती बजासहित नगर परिक्रममा गरिएको प्रदर्शनी तथा सभामा धरानका दलित तथा गैरदलित समुदायका करिब १ हजारको संख्यामा सहभागिता रहेको थियो ।

बिहान ६ बजे धरान उपमहानगरपालिका परिसरमा भेला भई ¥र्याली साढे ७ बजे धरान बजारको बिभिन्न भाग परिक्रमा गरी भानुचौकको लौकतान्त्रिक चौतारीमा पुगी कोण सभामा परिणत भएको थियो । सभाको सञ्चालन दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले गरेका थिए ।

सभामा सम्बोधन गर्दै धरान नगर उपप्रमुख मञ्जु भण्डारीले नेपालमा जातीय आधारमा भेदभाव गर्नु हुँदैन भन्ने चेतनाको विकास नहुँदा कहिँ कतै त्यस्ता घटना हुने गरेकोले सबै वडा वडामा जनचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् ।

धरानमा कहिँ कतै जातीय छुवाछुत तथा विभेदको घटना भए उपमहानगरपालिकाको न्यायिक समितिमा तत्काल उजुरी गर्न वा नजिकको प्रहरी कार्यालयमा घटना दर्ता गराउन र भेदभाव गर्नेलाई कानुन बमोजिम कारवाहि गर्ने प्रतिवद्धता गरेकी छिन् ।

नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १२ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *