३ नम्बर प्रदेश प्रमुखले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

हेटौँडा, जेठ १७ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपालको संविधानको १८४ धाराको उपधारा २ बमोजिम प्रदेश सरकारको आगामी आव २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रमलाई प्रदेश मन्त्रिपरिषद्ले विहिवार पारित गरेको मन्त्रिपरिषद्को कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताए।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहमा फोहोर विसर्जनस्थलका लागि बस्तीबाट टाढा उपयुक्त स्थान छनोट गर्ने काम अघि बढेको बताएका छन् ।

३ नं प्रदेशसभामा यही जेठ १३ र १४ गते उठेका विषयमा जवाफ दिँदै प्रदेश सरकारले ७९ नयाँ कानून आगामी आर्थिक वर्षमा बनाउने जानकारी दिए ।

उनले सवारी साधनको दुर्घटना र जानाजानी किचेर मार्नेलाई कारवाही गर्न नयाँ विधेयक ल्याइने बताए। भूकम्पपीडितलाई तत्काल आवासगृह निर्माण गर्न सरकारी अनुदान उपलब्ध गराइने र तत्काल घर निर्माणका लागि आवश्यक सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन पठाइने जानकारी उनले दिएका छन् ।

विहिबार बसेको प्रदेशसभाको बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र शर्तसम्बन्धी विधेयकमाथि दफाबार छलफल गरी स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक शुक्रबार अपराह्न ४ः३० बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *