‘महिनावारी नबार्दा समस्या आइलाग्यो ? अब घरमा छाउ बार्नू ।’

दैलेख, साउन ५ ।  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुनुहुन्छ । गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ । आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो ? अब घरमा छाउ बार्नू ।’

गाउँमा नजिकै अस्पताल छैन । भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन । केही उपाय नलागेपछि गाउँलेहरू माताको शरणमा पुगेर उपचारका लागि हारगुहार गर्छन् । माताको उपचार गर्ने एउटै मन्त्र छ । उपचारका लागि आउनेलाई उहाँ ‘छाउ बार्न’ सुझाव दिनुहुन्छ । गाउँलेहरू पनि माताकै विश्वासमा छाउ बार्न तयार हुन्छन् । महिनावारी हुँदा छुइछाई नगर्न माताले दिएको सुझावअनुसार नै स्थानीयले महिनावारीको बेलामा महिलालाई छाउगोठमा राख्छन् ।

गाउँकै धामीको विश्वास र देउता रिसाउने भ्रमका कारण यहाँ छाउ बार्ने संस्कारले जरा गाढेको छ । बेलुकी छाउगोठमा सुतेकी किशोरी बिहान मृत भेटिँदासमेत स्थानीय सचेत छैनन् । बरु गाउँका धामीझाँक्रीले भनेबमोजिम नै छाउ बार्न तयार छन् । स्थानीय धामीझाँक्रीका लागि पनि छाउगोठ उपचारको गतिलो मन्त्र बनेको छ ।

सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदा, धामीले छुइछाइ नै मुख्य कारण देखाउँदै आएका छन् । अनि उपचार मन्त्रको रूपमा उनीहरूले छाउ बार्न सुझाव दिने गरेका छन् । धामीको यही गलत सुझाव र सल्लाहका कारण पनि छाउपडी उन्मूलनमा चुनौती थपिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *