बजेट : शिक्षा क्षेत्रमा १ खर्ब ३४ अर्ब, स्वास्थ्यमा ५६ अर्ब छुट्याईयो

काठमाडौँ, जेष्ठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मंगलबार प्रस्तुत गरेको कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ३४ अर्ब बजेट छुट्याएको छ ।

आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको सरकारले सम्पूर्ण बालबालिकालाई विद्यालय ल्याउ, टिकाउ र सिकाउ अभियान सञ्चालन गर्ने भएको छ । सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने, मानवीय विकास सूचकांक कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजा उपलब्ध गराउने भएको छ ।

विश्वविद्यालय अनुदानका लागि १४ अर्ब बजेट छुट्याइएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गरिने, ग्रामीण दुरसञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेटको सेवा पुर्‍याइनेछ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने उद्देश्य सहित सरकारले स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षको भन्दा करीब १० अर्ब बढी बजेट विनियोजन गरेको हो ।

आगामी दुई वर्ष भित्र सबै वडामा कम्तीमा एक स्वास्थ्य संस्था स्थापना गरिने र पहिलो चरणमा १२ सय वडामा निर्माणका लागि स्थानीय तहलाई ४ अर्ब अनुदान उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ ।

सबै सार्वजनिक स्थान तथा सवारी साधनमा धुम्रपान तथा मद्यपान निषेध गर्ने, मदिरा र सुर्तीजन्य पदार्थको उत्पादन, आयात तथा बिक्री वितरणलाई कार्यविधि बनाइ व्यवस्थित गरिने जनाइएको छ ।

सरकारले सबै स्थानीय तहमा कम्तीमा एक चिकित्सकको सेवा अनिवार्य गर्ने भएको छ । ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको १ लाखसम्मको स्वास्थ्य बीमा गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *