सरकारबाट भत्ता पाउनेको संख्या झण्डै २५ लाख

काठमाडौ, जेठ १३ । नेपालमा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या झण्डै २५ लाख पुगेको छ ।

जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको चालु आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षणले देखाएको छ ।

जसमा सबैभन्दा बढी जेष्ठ नागरिक १२ लाख ८ हजार रहेका छन् ।

जेष्ठ नागरिकभित्र पनि दलित जेष्ठ नागरिकको संख्या २ लाख ६९ हजार, कर्णालीका जेष्ठ नागरिक ३४ हजार ६ सय र अन्य जेष्ठ नागरिक ९ लाख ३ हजार ८ सय रहेको छ ।

दलित जेष्ठ नागरिकले ६० वर्षमा र अन्य जेष्ठ नागरिकले ७० वर्ष पुगेपछि १ हजार रुपैयाँ भत्ता पाउँछन् । ७० वर्ष पुगेका जेष्ठ नागरिकले उपचारखर्च वापत थप १ हजार रुपैयाँ पाउँछन् ।

त्यस्तै सरकारबाट भत्ता लिने एकल महिलाको संख्या १ लाख ८ हजार रहेको छ भने विधवाको संख्या ५ लाख ६७ हजार ८ सय जना रहेको छ । उनीहरुले पनि मासिक १ हजार रुपैयाँ भत्ता पाउँछन् ।

भत्ता पाउने पूर्ण अपांगको संख्या ३९ हजार ६ सय र आंशिक अपांगको संख्या ६३ हजार २ सय रहेको छ । पूर्ण अपांगले २ हजार र आंशिक अपांगले ६ सय रुपैयाँ मासिक भत्ता पाउँछन् ।

त्यस्तै भत्ता पाउने लोपोन्मुख आदिवासी जनजातिको संख्या २४ हजार ६ सय र बालबालिकाको संख्या ४ लाख ८६ हजार ३ सय रहेको छ ।

लोपोन्खुम आदिवासी जनजाति समुदायका व्यक्तिले मासिक २ हजार र बालबालिकाले ४ सय रुपैयाँ भत्ता पाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *