भोलिदेखि ११ औँ बृहत शैक्षिक मेला शुरु हुदैँ
“
काठमाण्डौ,साउन ४ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा भोलि बिहीबारदेखि ११ औँ बृहत शैक्षिक मेला सुरु हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा संचालन हुने मेला साउन ८ गतेसम्म चल्नेछ ।
इक्यानको उक्त बृहत प्रदर्शनीका लागि अधिकांश स्टल तथा पेभिलियनहरु विक्री भइसकेको संघका अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् । उनले मेलामा २ सय ३३ स्टलहरु तथा १७ वटा पेभेलियनहरु (ठुला स्टलहरु) रहने जानकारी गराए ।
मेलामा नेपाली विद्यार्थीहरुले स्वदेशी एवम् विदेशी शिक्षा प्रणालीबारे सूचना प्राप्त गर्न सकिने संघका महासचिव सन्तोष प्याकुरेलले जानकारी गराएका हुन् । साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तीय शिक्षाबारे प्रशस्त जानकारी लिन सकिने सचिव प्याकुरलले बताए ।
संघले मेलामा एक लाख भन्दा वढी विद्यार्थीहरुले अवलोकन गर्ने अनुमान गरेको छ । मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदूतावास तथा कुटनीतिक नियोगहरुलाई यसअघि नै जानकारी गरिसकिएको इक्यानले जनाएको छ ।
मेलामा जापान, फ्रान्स, अमेरिका, बेलायत, भारत, चीन, बंगलादेश, श्रीलंका, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहेको छ ।
“