सर्पले टोकेर दैनिक सात जना थलामा

कन्चनपुर, साउन ४ । नेपाली सेनाको सहयोगमा सञ्चालित कञ्चनपुरको अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दो अवस्थामा रहेको छ ।

वर्षायाम शुरु भएसँगै सर्पदंशका बिरामीको संख्यामा वृद्धि भएको हो । दैनिक तीनदेखि सातजनासम्म सर्पदंशका बिरामी उपचारका लागि पुग्ने गरेको केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार वैशाखदेखि असार मसान्तसम्म गरी तीन महिनाको अवधिमै १५० जना बिरामीको उपचार गरिएको छ ।

साउन महिनाको दुई दिनको अवधिमै पाँचजना सर्पदंशका बिरामीको उपचार गरिएको कार्कीले बताएका थिए । केन्द्रमा उपचारका लागि पुग्नेमध्ये विषालु सर्पले डसेका निकै कम रहेको र कम विषालु सर्पको डसाइको उपचारका लागि पुग्ने बिरामी बढी रहेका छन् । हालसम्म केन्द्रमा उपचारका लागि पुगेकामध्ये सर्पदंशका कारण बिरामीको मृत्यु भने भएको छैन ।

गत वर्षको यसै अवधिमा केन्द्रमा सर्पदंशका ५०७ जना बिरामीको उपचार गरिएको थियो । नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा केन्द्र सञ्चालनमा रहेको छ । सर्पदंश भएका बिरामीलाई निःशुल्क उपचारका लागि जनस्वास्थ्य कार्यालयले एन्टी स्नेक भेनम औषधि उपलब्ध गराउँदै आएको छ ।

केन्द्रमा अक्सिजन सिलिन्डरको अभाव हुँदा बिरामीले सास्ती खेप्नु पर्ने अवस्था रहेको केन्द्र सञ्चालन समितिका कोषाध्यक्ष कालु सिंह ठगुन्नाले बताउ । उपचार केन्द्रमा बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, देखतभूलीलगायत क्षेत्रका बासिन्दाले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *