प्रधानमन्त्री ज्यू ! वीपी प्रतिष्ठानलार्इ कहिले सुधार्ने ?

“
मेरो नाम उर्मिला दाहाल, घर इटहरा, मोरङ । पेशाले निमावि तहमा प्राध्यापन गराउँछु मोरङकै एक निजी विद्यालयमा । परिवारमा सासु ससुरा, श्रीमान, छोरी र एक छोरा छन् ।
आर्थिक रुपले मध्यम परिवार भएकोले म, श्रीमानलाई सघाउन विहान बेलुका घरको काम गरेर निजी विद्यालयमा पढाउँछु । खेतिपाती बाट उब्जेको अन्नबालीले हामीलाई खान पुग्छ । छोराछोरीको स्कुल, किताब कपी, लुगाफाटा लगायतमा श्रीमान श्रीमतिले कमाएको पैसाले जेनतेन चल्छ । त्यसमाथी बृद्ध सासुससुराको औषधोपचार दैनिक खर्च पनि धान्नुपर्छ ।
महिनाभरी स्कुलमा पढाएको तलब हेर्दा १० हजार पनि पुग्दैन । श्रीमानको पनि त्यस्तै हो । हाम्रो जिन्दगी थोर बहुत नाफा घाटामा चलेको छ ।
पैसा कमाएर बचत गरुँ, हरेक दिन नयाँ लुगा लगाउँ, रेष्टुरेण्टमा खाउँ, घुम्न जाउँ भन्ने त सपना मात्र ।
***
गत साता अकस्मात ८ वर्षिय छोरी स्कुलमा दिउसै बेहोस् भइछन् । शिक्षकले फोन गरे । हतार–हतार गएँ, पानी छ्यापेर छोरीलाई होसमा ल्याएछन् । मौसम परिवर्तन हुँदा सामान्य रुघा खोकी र ज्वरोको सामना गरेकी छोरी एक्कासी बेहोस भएपछि स्थानीय स्वास्थ्य संस्थामा लगें । एचए तहका डाक्टरले गर्मीका कारण यस्तो भएको हुनसक्ने भन्दै पानी प्रसस्त खुवाउन सुझाए ।
आमा न हुँ, ९ महिना कोखमा राखेर जन्माएको सन्तानलाई सानो ठेस लाग्दा आत्तिने मन छोरी बेहोसै हुँदा चुप लागेर बस्ने कुरा भएन । पानी मात्र खुवाएर राख्न मनले मानेन । श्रीमानको प्राइभेटमा जागिर भएकोले छुट्टी मिलेन । आइतबार स्कुल विदा लिएर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएँ ।
म यो अस्पताल मुस्किलले ४–५ पटक आएँ हुँला । सुत्केरी दमकको आम्दा अस्पतालमा भएँ । सासुलाई नशाको रोग छ, पछिल्लो पटक चेकजाँच गराउन २ वर्ष अघि उहाँलाई लिएर आएकी थिँए ।
त्यत्तिबेला प्रतिष्ठानमा उपचार गराउन आउने विरामीकोे भिड र अहिले आउँने विरामीको भिडमा कुनै अन्तर देखिन । विहानै ८ बजे पुर्जि काट्न लाइन लाग्नुपथ्र्यो । अहिले भने टोकन सिष्टम आएछ । थोरै खुसी लाग्यो । पुर्जि काटेँ ।
पुर्जि बालरोग विभागमा बुझाउनुपर्ने, मलाई बालरोग कुन विल्डिङमा छ थाहा भएन, बाहिर आएर सुचना डेक्समा हेरेँ । INFORMATION DESK भनेर लेखिएको थियो । मान्छे थिएनन् । प्यासेजमा नर्स, विद्यार्थी र डाक्टर ओहरदोहर गरिरहेका थिए । सँगै निलो कुर्ता सलवार लगाएका महिला पनि हिँडिरहेका थिए । एउटी निलो कुर्ता सलवार लगाउने महिलालाई ‘बालरोग विभाग कहाँ छ’ भनेर सोधें । उनले ‘दोस्रो विल्डिङको पहिलो तला’ भनिन् ।
त्यसपछि छोरीलाई डोर्याउँदै बालरोग विभाग गएँ । त्यत्तिञ्जेल सम्म १० बज्न लागेको थियो ।
***
वाफ रे वाफ ! विरामीको थामिनसक्नु भिड । खुट्टा हाल्ने ठाउँ थिएन, बस्ने कुर्सी पाउनु त भाग्यको कुरा । ठेलमठेल गर्दै बल्लबल्ल रजिष्ट्ररमा नाम लेखाईरहेका कर्मचारीलाई पुर्जि थमाई दिए । उनले पुर्जि हेरेर रजिष्ट्ररमा नाम लेखाउँदै ‘बाहिर बस्दै गर्नुस् डाक्टर आएका छैनन्, पालो आएपछि नाम बोलाउँला’ भने ।
चैत–बैशाखको उखरमाउलो गर्मी, खचाखच भिड, स्वासै फेर्न गाह्रो भो । छोरीलाई जचाउँन ल्याएकी आफैं विरामी हुन्छु जस्तो भो, मुस्किलले १० मिनेट ढोका अगाडी उभिएँ । ढोकै अगाडी शौचालय रहेछ, शौचालयको दुर्गन्ध बाहिरसम्म आएको थियो, पानी पनि त्यस्तै । शौचालयकै प्यासेजमा विरामी र तीनका आफन्त नाक मुख थुनेर भुईमै बसिरहेका थिए ।
गर्मी र शौचालयको दुर्गन्ध खप्नै सकिन । बाहीर निस्किएँ । रुखको छहारीमा एक छिन सुस्तायौं छोरी र म । भित्र पालो आयो होला भनेर गएँ । डाक्टर आएकै रैनछन् । केहि सिकारु विद्यार्थीहरु आउन थाले । रजिष्ट्ररमा नाम लेखाउने दाईलाई सोधें । ‘राउण्डमा छन्, अब आउने बेला भयो ।’ भने । उनकै छेउमा एकछिन उभिए । आधा घण्टा भयो, बल्ल–तल्ल डाक्टरहरु आउन थाले ।
३–४ जना डाक्टरहरु आएपछि विरामी र तिनका आफन्तले भिड बढ्यो । त्यहाँ बसि नसक्नु भयो । ‘उफ्, कस्तो अब्यवस्थित ! कस्तो भिड !
विरामीको भिडमा पंखाको तातो हावाले शौचालयको दुर्गन्ध फैलिएको थियो । खप्नै सकिन, रजिष्ट्ररमा मेरो पालो १०४ जना पछि रैछ । लगभग २–३ घण्टा लाग्ला जस्तो लाग्यो । छोरीलाई लिएर बाहिर निस्कीएँ ।
२ घण्टाको विचमा ३ पल्ट पालो आएको सोध्न गएँ । बारम्बार सोध्न आएकोले होला सहयोगी दाई रिसाउँदै ‘तपाईले भन्ने वित्तिकै पालो आउन प्राइभेटमा जानुपर्छ, यो सरकारी हो ।’ भन्दै झर्किए ।
अचम्म लाग्यो, उनको त्यो ब्यवहार देखेर । हुन त अगाडी अरु मानिसहरुलाई पनि त्यस्तै जवाफ दिन्थे, ‘पालो आएपछि बोलाउँला, आको छैन, कति सोधेको ? सुनेर बस्नुस न म बोलाई हाल्छु नी !, हतार हुनेले सरकारी अस्पताल नआएकै जाती ! यत्रा विरामी छन्, ५–४ जना डाक्टरले कहाँ हेर्न सक्छन् ? यस्तै यस्तै कटु बचन बोलिरहेका थिए ।
वीपीमा आउने अधिकांश बिरामी मध्यम तथा कमजोर आर्थिक अवस्था भएका र टाढाबाट आएका प्रष्ट देखिन्थ्यो । आफुलाई छोरीको उपचार गर्नुथियो । केहि भनिन । १ बज्न लाग्यो, १ बजेदेखि २ बजेसम्म वीपीमा खाना खाने समय रहेछ । डाक्टरहरु निस्कन थाले । मेरो पालो आएन । फेरी गएर त्यहि दाईलाई अब कतिखेर पालो आउँछ भनेर सोधें, झर्कँदै ‘अब २ बजेपछि आउनु !’ भन्दै निस्किए ।
‘वीपी प्रतिष्ठान बाहिर जति सफा र सुघ्घर छ, भित्र रहेनछ’
खानाखाने भन्दै डाक्टरहरु निस्केपछि हामी धेरै विरामीहरुसँग पर्खेर बस्नुको विकल्प भएन । त्यहाँ भोक भोकै आएका विरामी र तिनका आफन्त सयौं थिए । ‘बरु प्राइभेट नै गएको भए हुन्थ्यो, यस्तो झमेला त हुने थिएन ।’ एक मनले भन्यो । फेरी सम्झिँए प्राइभेटको महंगो शुल्क ।
दिक्क लाग्यो, सरकारले गरिब निम्नस्तरका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाको हालत देखेर ।
***
वीपी प्रतिष्ठान बाहिर जति सफा र सुघ्घर छ, भित्र रहेनछ । कर्मचारीहरुको ब्यवहार मित्रवत छैन । डाक्टरहरुपनि त्यस्तै, नर्सहरु त झन बोलि नसक्नुका । एउटा कुरा सोध्यो, उल्टो जवाफ दिने । समयमा नआउने, मोवाइल खेलाएर बस्ने, फोनमा झुण्डिने कुरा सामान्य भए ।
२ः३० बजेपछि बल्लबल्ल पालो आयो । ३ नंं कोठामा पुर्जि लिएर गएँ । भर्खर २४–२५ पुगेका जस्ता लाग्ने एक जना महिला र एक पुरुष डाक्टर रहेछन् । छोरीको ब्यथा बताएँ । सामान्य ब्लड प्रेसर, मुटुको धड्कनको नाप लिए ।
त्यसपछि महिला डाक्टरले एकपल्ट ब्लड, दिसा पिसाव र छातीको एक्स–रे गर्नु भने । आफ्नो घर नजिक थिएन । त्यही दिन सबै काम सकाएर घर फर्कने गरी आएको म ‘के गरुँ के नगरुँ’ भएँ । २ बजे पछीको रिपोर्ट भोलीपल्ट मात्रै आउने रहेछ । विहान १२ बजे अगाडी देखाएकाको पनि बेलुकी आउने चान्स रहनेछ ।
श्रीमानलाई फोन गरें । सबै कुरा बताउँदै के गर्ने भनेर सल्लाह मागें । उहाँले ‘बस्ने ठाँउ छैन, बरु भोली विहान जाउँला फर्कनु’ भन्नु भो । विहान ७ बजे घरबाट एक कप चिया र चिउरा खाएर आएकी, मलाई भाउन्न भएर आयो । छोरीलाई डोर्याउँदै बाहिर गेटमा आएँ । ‘रातभरी करायो कुन्नी के’ भने जस्तो छोरीलाई राम्ररी जचाँउन नपाउँदा मनै खल्लो भो ।
***
अस्पताल गेटै अगाडीको एउटा होटलमा गएर खाजा खाँदै थिए । एक जना अधवैशे दाई अघिल्तिर आएर ‘बैनी विरामी देखाउनु भो ?’ भन्दै प्रश्न गरें । डाक्टरलाई त देखाए, रगत दिशा पिसाब र एक्सरे चेकजाँच गर्न भ्याइन घर जान लागेको भनें ।
ति दाईले ‘वीपी अस्पतालमा यस्तै हुन्छ बैनी सबै कुरा विग्रिएको छ, रिपोर्ट पनि राम्रो आउँदैन’ भन्दै वीपीकै नानाभाँती कुरा गरे । मैले पनि ‘राम्रो ठूलो अस्पताल भनेर आको ब्यर्थै भो’ भन्दै उनको कुरामा हो मा हो मिलाँए ।
कुरागर्दै जाँदा ती दाईले दिसा–पिसाब रगत र एक्सरे बाहिर प्राइभेटमा जाँच गरेर भित्र डाक्टरलाई देखाउन सुझाए । ‘एक–डेढ सय मात्र महंगो हो, आजै रिपोर्ट आउँछ ४ बजेसम्म तपाईले डाक्टरलाई देखाउन पाउनु हुन्छ ।’ ती दाईले यसो भनिरहँदा मलाई पनि निको लाग्यो र उनकै साथमा लागेर त्यहिँ छेउकै एउटा डायग्नोष्टिक सेन्टरमा गँए, छोरीको दिसा, पिसाव रगत र छातीको एक्सरे गरेको १४ सय जति तिरेँ । नभन्दै ४ बजेतिरै सबै रिपोर्ट आयो ।
सहयोग गरेको भनेर सय रुपिया हातमा राखिदिए, उनले पैसा लिँदै ‘अरुबेला पनि काम परे सम्पर्क गर्नु हामी यस्तै सहयोगको लागि बस्छौं’ भन्दै कार्ड नै दिए । उनी त्यहि डायग्नोष्टिकका मान्छे रहेछन् । समस्यामा परेकालाई सघाउन बसेका रे !
***
हतार–हतार डाक्टरलाई देखाउन पुनः ओपिडी गएँ ।
विहानको भन्दा भिडपनि कम भएको रहेछ । रजिष्ट्रर गर्ने ठाउँमा ती दाई थिएनन् । एकाध दुई विरामी यताउता गर्दै थिए । ‘एक जना निलो कुर्तासलवार लगाएकी महिला आइन् । ‘दिदि खै डाक्टरहरु ! भन्दै सोधें । तीनले डाक्टरहरु गईसकेको र अब पेयिङमा भेट्न सकिने बताईन् । मलाई वीपीको पेयिङ भन्ने थाहा थिएन । उनैलाई सोधें । उनले पेयिङ भनेको ‘प्राइभेट जस्तै हो, टिकट महंगो हुन्छ’ भनिन् ।
उफ्, दिनभरी यता र उता दौडधुप गर्दागर्दा लखतरान भएको ज्यान ती महिलाको कुरा सुनेर झन लुत्रुक्क पर्यो । मलाई भाउन्न भएर आयो, त्यहिँ कुर्सिमा बसेँ । छोरी पनि गलिसकिछ, घरजाउँ भन्न थालि ।
ती महिलाले नै राम्रा डाक्टरहरु पेयिङमा भेटिने र यत्रो खर्च गरेपछि पाँच सयको मुख नहेर्न र पेयिङ जान सुझाईन् । अब जे हुनु भयो भन्दै पेयिङको टिकट काटेँ । हतार–हतार ती दिदिकै साथमा लागेर पेयिङ सेवामा गएँ ।
पेयिङमा डाक्टर विरामी जाँच्दै रहेछन् । ५ जना पछि नै पालो आयो । अगाडी ओपिडीमा काटेको पुर्जि र दिसा पिसाव र रगत र छातीको एक्सरे देखाएँ । डाक्टरले सबै हेरेर नर्मल भएको बताउँदै गर्मीका कारण यस्तो हुन सक्ने बताए ।
डाक्टर भगवानका दोस्रो रुप हो भन्थे । छोरीलाई खासै केहि नभएको र नअत्तालिन भनेपनि मेरो प्राणमा ज्यान आयो । लगभग पौने ६ बजिसकेको थियो । हतार हतार गरेर भानुचौक आएँ । एउटा गाडी दमकसम्म जाने रहेर त्यसैमा चढें । सिट खाली नै रहेछ । श्रीमानलाई फोन गरेर छोरीलाई जचाएर आउन लागेको उर्लाबारीसम्म लिन आउनु भनें । अनी फुर्सदको स्वास फेरें ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मैले एक दिन मात्र भोगेको घटना हो यो ।
***
सर्वसाधारण जनताको उपचारका लागि स्थापना भएका यस्ता संस्थाहरुमा दैनिक लाखौं जनताले यस्ता समस्या झेल्ने गर्छन् । वीपी प्रतिष्ठान भनेको पूर्वको सबैभन्दा सुविधासम्पन्न र ठूलो उपचार केन्द्र भनिए पनि त्यहाँ सामान्य विरामीले समेत उपचार पाउन ठूलो पापड बेल्नुपर्दाे रहेछ ।
त्यो भन्दा मलाई उदेक लाग्दो कुरा अस्पतालमा बाहिरका डायग्नोष्टिक सेन्टरहरुले नै सहयोगीहरु पठाउँदा रहेछन् । तिनीहरुले विरामीको अवस्था हेरेर अस्पताल भित्र भनेको समयमा उपचार नहुने भन्दै विरामीलाई बाहिर पठाउँदा रैछन् । ती सहयोगी दाईसँग गफ गर्दा उनले प्रतिष्ठानको रेडियोलोजी, एक्सरे, भिडियो एक्सरे, रगत लगायतको रिपोर्टलाई त्यहीँकै डाक्टरले राम्रो मान्दैनन् रे । धेरै विरामीले बाहिर ल्याब रिपोर्ट ल्याएर डाक्टरलाई देखाउँदा रैछन् ।
सुन्नमा आएको प्रतिष्ठानका कतिपय डाक्टर र पदाधिकारीले नै बाहिर यस्ता सेन्टर चलाएका छन् रे, कति डाक्टर र पदाधिकारीले महिनाबारी कमिसन पनि लिन्छन् रे, कहिले काँही पत्रपत्रिकामा वीपीमा भएको भ्रष्टाचारका लामा–लामा समाचार आउँछन् । दुखः लाग्छ, गरिब निम्न अार्थिक अवस्थाकालार्इ सेवा दिन भनेर खाेलिएका यस्ता संस्थालार्इ लुट्न पल्केका हरूदेखि ।
***
प्रतिष्ठानका उपकुलपतिले यति करोड खाए, उति करोड खाए, एमआरआइमा यसरी भ्रष्टाचार गरे, कर्मचारी नियुक्तिमा यसरी मोलमोलाई गरे, सेटिङ गरे । भन्ने समाचार आईरहँदा राज्यको निकाय किन मौन बसिरहेछ प्रधानमन्त्री ज्यू ! राज्यले सर्वसाधारण जनताको स्वास्थ्य सेवाका लागि स्थापना गरेका यस्ता प्रतिष्ठानलाई लुट्ने लुटेराहरुलाई दण्ड सजायको भागिदार बनाउन किन डराउँदै हुनुहुन्छ प्रधानमन्त्री ज्यू !
यहाँ मैले सुगम स्थलको वीपी प्रतिष्ठानको घटनालाई उदाहरण दिईरहँदा हाम्रा घरआँगनमा भएका जनस्वास्थ्य चौकीमा सिटामोल र जिवनजल समेत नभएको अवस्था विर्सेको छैन । जाजरकोटमा सिटामोल र जिवनजल नहुँदा गाउँ नै सोत्तर भएको दृश्य आँखामा झल्झल्ती छ । यस्ता स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति सहित आवश्यक गुणस्तरीय स्वास्थ्य सेवा कहिले सुरु हुन्छ प्रधानमन्त्री ज्यू ?
मलाई याद छ, तपाई र तपाईको पार्टीले चुनाबी कार्यक्रममा गरेका प्रतिबद्धता । मैले विर्सेको छैन, चुनाब जितेर प्रधानमन्त्री भएपछि तपाईले संसदमा पहिलो पल्ट संबोधन गर्दा गर्नुभएका प्रतिबद्धता । तपाईले संसदमा भन्नु भएको थियो ‘यो सरकार भ्रष्टाचारमा शुन्य शहनशिलता अपनाउछ, तपाईले भन्नु भएको थियो, ‘अब औषधी उपचार नपाएर जनताको मर्ने दिन गए’, तपाईले भन्नु भएको थियो, ‘अब गाँस बास कपासको ग्यारेण्टी सरकारले गर्छ ।’
आज तपाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान भईरहँदा तपार्इ आफैं कूलपति भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान खोक्रो भएको छ, भ्रष्टाचारको अखडा भएको छ, राजनीतिक कार्यकर्ता भर्ना गर्ने थलो भएको छ । यस्ता कू–ब्यवस्था हटाउन हजुरको दिब्यदृष्टि किन पर्दैन ? प्रधानमन्त्री ज्यू !
“








