ठूला कम्युनिष्टको एकता विश्वकै असाधारण घटनाः प्रचण्ड

जेठ ५, काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता सामान्य परिघटना नभई असाधारण रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘‘प्रचण्ड’ले बताएका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभई विश्वकै असाधारण घटना भएको दावि गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले मार्ग प्रशस्त गरेको अध्यक्ष दाहालको दावि छ । ‘कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन र देशको विकासमा यो अपरिहार्य थियो ।’ उनले भने ।

अध्यक्ष दाहालले दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको छ बताए । ‘यो एकता ‘जनताको अपेक्षा पुरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि इतिहासकै महत्त्वपूर्ण घटनाक्रमका रूपमा स्थापित भएको छ।’ उनले भने ।

आफूहरूको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै दाहालले नेपाली जनता र देशले दिएको जिम्मेवारी पुरा गर्ने लक्ष्यका साथ आफूहरू एकीकृत रूपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पुरा भएको दावि गरे ।

विकास समृद्धिको यात्रालाई प्रभावकारी रूपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालको भनाई थियो ।

केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उनले ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पुरा गरेरै छाडिने दृढता व्यक्त गरे। विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै उनले नयाँ सरकार बनेको अनुभूति दिइने स्पष्ट पारे।

सरकारको सबै तहलाई सन्तुलनमा राखेर जनताको अपेक्षा पुरा गर्ने तथा गराउने तर्फ आफूहरू प्रतिबद्ध भएर लाग्ने समेत उनको भनाइ थियो। दुई पार्टीको एकतापछि आज तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बसेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =