पार्टी एकीकरणको खुसियालीमा वृक्षरोपण

“
काठमाडौ, जेठ ३ । वाम एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवास बालुवाटार परिसरमा एमाले अध्यक्ष केपी शर्मा ओली र मोओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले अणु वमले क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् ।
दुबै दलका शीर्ष नेताहरू माधवकुमार नेपाल, बामदेव गौतम, विष्णु पौडेल, जनार्दशन शर्मा लगायतले बालुवाटारमा निर्माणधीन पार्कमा वृक्षारोपण गरेका हुन् ।
ओलीले विभिन्न साना साना तत्वहरु मिसिएर खतरनाक अणुवम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै साना साना तत्वहरुको सम्मिश्रण भएको बताएका थिए ।
त्यसलगत्तै पार्टी एकता संयोजन समिति बैठकका लागि बालुवाटार पुगेका नेताहरुले संयुक्त रुपमा जापानी प्रजातिको ‘जिन्को’ नामक विरुवा रोपेका हुन् ।
एमाले नेता डा. राजन भट्टराईका अनुसार नेताहरुले बालुवाटारमा वृक्षारोपण गरेको जिन्को प्रजातिको बनस्पतिले वर्षमा तीनपटक रंग फेर्छ । अणु वमले पनि ध्वस्त गर्न नसकेको प्रजातिका रुपमा जिन्कोलाई लिइन्छ ।
पार्टी एकीकरणको खुसियालीमा वृक्षरोपण गरिएको ओलीको सचिवालयले जनाएको छ ।
“








