केन्द्र सरकार अधिकारजति माथि नै राख्न पाए हुन्थ्यो भन्नेमा छः मुख्यमन्त्री पौडेल

हेटौंडा, जेठ १ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि र बिकासको दिशामा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

अहिलेको दुई महिनामा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै आगामी वर्षबाट पूर्व तयारीका साथ काम गर्ने बताएका छन् ।

केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा प्रदेशको बिकासको कामले गति लिने बताएका मुख्यमन्त्री पौडेलले एकले अर्कालाई बुझ्न नसके समस्या आउँने उनको भनाई छ ।

तीन तहको सरकार र सबैको सहयोगमा प्रदेशलाई समृद्ध बनाउँने अभियानमा सरकार लाग्ने बताएका पौलेलले स्थानीय सरकारका वडाध्यक्ष तथा उपमेयर र उपाध्यक्षहरुले अधिकार पाइन भनेर हिड्न नपर्ने अवस्था रहेको बताएका छन् ।

स्थानीय तहका उपप्रमुखहरुलाई न्यायिक क्षेत्र, योजना निर्माण तथा अनुगमन जस्ता धेरै अधिकारहरु दिएकोले अधिकार कम प्राप्त भयो भनेर आवाज उठाउनुको कुनै अर्थ नभएकोे जिकिर समेत गरेका छन् ।

स्थानीय तहको अधिकारको तुलनामा अहिलेसम्म प्रदेश सरकारले कुनै अधिकार नपाएको मुख्यमन्त्री पौडेलले बताए ।

जिल्ला समन्वय समिति मकवानपुरको प्रथम जिल्ला सभा तथा समीक्षा बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले भने,’केन्द्र सरकार अझैपनि अधिकारजति सबै माथिनै राख्न पाए हुन्थ्यो भन्नेमा छ, हामी के गर्ने भन्ने विषयमा अझै अन्योलमै छौ ।’

केन्द्रमा नीति निर्माण भएपछि मात्र आफूहरुले पनि विभिन्न नियम, विधेयकहरु निर्माण गर्न सक्ने भएकोले पनि प्रदेश सरकारले अहिलेनै केहि गरिहाल्ने भन्ने कुरामा आफूहरु दुविधामा रहेको उनले बताएका छन् ।

प्रदेशसभाले ल्याउने बजेटमा मकवानपुरको तर्फबाट कुलेखानी(काठमाण्डौँ सुरुङमार्ग उच्च प्राथमिकतामा रहेको भन्दै मुख्यमन्त्री पौडेलले सरकारले अव एकिकृत बस्ती निर्माणको लागि समेत पहल सुरु गर्ने बताए ।

पौडेलले प्रदेश सरकारले अब आगामी दिनमा वर्षमा एउटा गाउँपालिकालाई राम्रो काम गरे वापत पुरस्कार सोरुप राम्रो रकम उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *