अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी बालबालिका छनौट


साउन ३, भरतपुर । नारायणगढ बाह्रघरेमा रहेको युवा समाज नेपालले सोमबार अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुने बालबालिका छनौट गरेको छ ।
भारतको जोगबनीमा हुने अन्तर्राष्ट्रिय स्तरको गोष्ठीमा सहभागी हुनको लागि ६ जना बालबालिका छनौट भएका युवा समाजका अध्यक्ष केशवप्रसाद रेग्मीले जानकारी दिए । युवा समाजले सञ्चालन गरेको बालविकास खुत्रुके कार्यक्रममा सहभागी बालबालिकाबाटै ६ जना उत्कृष्ट बालबालिका छनौट गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।
युवा समाजले चितवनमा जिल्लामा १२ वटा बालविकास खुत्रुके शाखा सञ्चालन गरेको छ । १२ वटा शाखामा करिब ५०० बालबालिका आबद्ध रहेका छन् । करिब ५०० बालबालिकाबाट उत्कृष्ट ६ जना बालबालिका अन्तर्राष्ट्रिय गोष्ठीका लागि छानिएको युवा समाजका कार्यकारी निर्देशक खगराज ओझाले बताए ।
बाह्रघरे बालविकास खुत्रुके शाखाकी अनु ओझा, बिहानी शाखा भरतपुर ९ का सिजन अधिकारी, कामना शाखा भरतपुर ११ का अशेष दवाडी, शक्तिखोर शाखाका सृजना रायमाझी, सीताराम मावि देवघाट शाखाका प्रजन थापा, बालकुमारी कन्या मावि शाखाका कृतिका रेग्मी छनौट भएका संस्थाका महासचिव किशोर खनालले जानकारी दिए ।
युवा समाजले छनौट भएका बालबालिकाको अभिभावकसँग पनि छलफल गरेको छ । युवा समाजले ५ दिने अन्तर्राष्ट्रिय गोष्ठीका बारेमा अभिभावकलाई जानकारी गराएको थियो । गोष्ठीमा विभिन्न ८ देशका बालबालिका सहभागी हुने बताइएको छ । बालबालिकासँग संस्थाका कार्यकारी निर्देशक तथा फोकल पर्सन खगराज ओझा र सदस्य होमनाथ घिमिरे सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *