नोवेल क्विज मेनिया ६ मा आठ टिम छनौट

“
साउन, २ काठमाडौँ । एसियाली स्तरको नोवेल क्विज मेनिया सिजन ६ को सेमिफाइनलमा आठ टिम छनौट भएका छन् । राजधानीमा जारी अडिसनमा राजधानी बाहिरका विद्यालय गरी आठ विद्यालय छनौट भएका हुन् ।
आइतबार र सोमबार सम्पन्न छनौट चरणमा अरनिको उच्च मावि, ग्लोबल कलेज अफ म्यानेजमेण्ट, गोल्डेन गेट इन्टरनेशनल कलेज, टाइम्स इन्टरनेशनल कलेज, गण्डकी बोर्डिङ स्कुल पोखरा, सिसिआरसी कलेज काठमाडौँ, अर्किड साइन्स कलेज, चितवन र अक्सफोर्ड उच्च मावि वुटबल छनौट भएका छन् ।
प्रतियोगितामा नेपालबाट २४ टिम सहभागी भएको एक्रेटिभ मिडिया प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा कार्यकम निर्माता हरि पोख्रेलले बताए । नेपाल छनौट चरण सम्पन्न भएपछि एसियाली राष्ट्रहरूमा छनौट चरण सुरु गरिने निर्माता पोख्रेलले जानकारी दिए । सिजन ५ सार्क स्तरीय रूपमा सञ्चालन भएकोमा यस पटकबाट एसियाली स्तरको बनाएको हो । एसियाका विभिन्न देशहरूमा छनौट चरणका कार्यक्रम गरी फाइनल चरण नेपालमा गरिने बताइएको छ ।
महानायक नाचे आइटम गीतमा
क्विज मेनियाका क्विज मास्टर महानायक राजेश हमाललाई अर्किड कलेज चितवनकी छात्रा स्मृति रिजालले नचाएकी छिन् । सोमबार सम्पन्न नोवेल क्विज मेनिया सिजन ६को छनौट चरणमा स्मृतिले महानायक हमाललाई आइटम गीत काले दाइ ….मा नचाएकी हुन् । चितवन भरतपुर स्थित अर्किड कलेजमा अध्ययनरत स्मृतिसँगै क्विज मास्टर राजेश हमालले आइटम गीतमा कम्मर मर्काएका थिए ।
नोवेल मेडिकल कलेज प्रिजेन्ट रहेको प्रतियोगिताको इन एशोसिएशन विथमा इस्लिङ्टन कलेज रहेको छ भने, कार्यक्रमका प्रायोजकहरुमा मर्सी एजुकेशन, राइटपाथ करियर काउन्सेलिङ, एनआइसी एशिया बैंक लि., श्री वेङ्कटेश्वर कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी इण्डिया, श्रीनाथ कलेक्सन अफिसियल एयरलाइन्समा कतार एयरवेज रहेका छन् । क्विजको अफिसियल मिडियामा मकालु खबर डट कम रहेको छ ।
नेपाली चलचित्रका महानायक राजेश हमाल विगत ६ वर्षदेखि क्विज मेनियाका क्विन मास्टर हुनुहुन्छ । चलचित्र क्षेत्रमा बौद्धिक व्यक्तित्व समेत बनाउन सफल हमालको क्विज प्रस्तुतिलाई टेलिभिजनमा बालबालिका देखि बृद्धबृद्धाले समेत रुचाएका छन् । एक्रेटिभ मिडियासँग रहेर ५ ओटा सिजन पुरा गरिसक्नु भएका महानायक हमालसँग नोवेल क्विज मेनिया सिजन ६ का विषयमा गरिएको कुराकानीको सारंसः
‘क्विज मेनियामा आएपछि सबैले धेरै कुरा सिक्न सक्छन्’
क्विज मेनियाले नेपाली जनता र विद्यार्थीका लागि कस्तो फाइदा दिन्छ ?
क्विज असाध्यै राम्रो चिज हो । विद्यार्थीहरू पाठ्यक्रम अनुसार अध्ययन गर्ने गर्दछन् । क्विजले उनीहरूलाई पाठ्यक्रम भन्दा बाहिरका ज्ञान दिन्छ । यसले विद्यार्थीको व्यक्तित्व विकासमा पनि सहयोग गर्दछ । विद्यार्थीहरुमा क्विजमा सहभागी भएपछि पुरस्कार पाइन्छ भन्ने कुरा हुन्छ यसले उनीहरूमा सामान्य ज्ञान पढ्न जाँगर पनि आउँछ । टेलिभिजन हेर्ने दर्शकका लागि पनि ज्ञान हासिल गर्ने माध्यम हो ।
क्विज मेनिया पहिलो संस्करण देखि छैटौँसम्म आइपुग्दा कत्तिको परिस्कृत र प्रभावकारी भएको छ ?
क्विज मेनिया सुरुमा सञ्चालन गर्दा नै हामीले यसलाई पहिलो भन्दा दोस्रो कसरी राम्रो बनाउने नै भनेर लागेका थियौँ । पहिलो दोस्रो तेस्रो हुँदै पाँचौँसम्म आइपुग्दा यो अझ परिस्कृत र प्रभावकारी भएको छ । पाँचौ चरणमा पुगेपछि हामीले यसलाई खाली राष्ट्रिय तहमा मात्र नराखेर अन्तर्राष्ट्रिय तहमा किन नलैजाने ? भन्ने भएपछि सार्क स्तरमा पु¥यायौं । गत वर्षको सार्क स्तरीय क्विज अत्यन्तै राम्रो भयो । भुटान, इण्डिया, पाकिस्तान, बङ्गलादेश जस्ता देशहरूको सहभागिता भयो । त्यसैबाट अझ थप प्रेरणा मिलेर यस पटकबाट एसियाली स्तरको क्विज गर्ने तयारी गरेका छौँ ।
गत वर्ष सार्क स्तरको भनेपनि सार्कका सबै राष्ट्रहरुलाई त समावेश गर्न सक्नु भएन, यस पटक पनि त्यस्तै त हुने हैन ?
ठिक कुरा गर्नुभयो । हामीले सार्कका सबै देशलाई समावेश गर्न सकेनौं । यसो हुनुमा कतिपय देशको राजनीतिक अवस्थाले पनि हो । अफगानिस्तानलाई राजनीतिक कारणले समावेश गर्न सकेनौं । माल्दिभ्स र श्रीलंकासँग कनेक्सनको समस्या भयो । कतिपय अवस्थामा एउटा देशको विद्यार्थी अर्को देशमा आउन त्यहाँको राजनीतिक, कुटनितिक, भिजा सिस्टमले पनि भरपर्दो रहेछ । यस पटक भने, हामीले विशेष तयारी गरिरहेका छौँ । हामीलाई यस पटक परराष्ट्र मन्त्रालय, गैह्र आवासीय नेपाली समुदाय र एनआरएनका पदाधिकारीले पनि सहयोग गर्ने बचन दिनु भएको छ । यस हिसाबले यस पटकको एसियाली स्तरको क्विज विगतको भन्दा भव्य र राम्रो हुनेमा विश्वास लिएका छौँ । कम्तीमा ६०/७० प्रतिशत देशलाई समावेश गर्न सक्नेमा विस्वस्त छौं ।
नेपाल देखि बाहिर गइसकेपछि क्विजको संरचना कसरी निर्माण हुन्छ ?
मुलभूत रूपमा सबै देशका विद्यार्थी उस्तै नै हुन्छन् । उस्तै उमेर, उस्तै महत्वकांक्षा हुन्छ । भविष्य प्रति आशावादी र चिन्तनशिल हुन्छन् । खाली आ–आफ्नो देशको वातावरणले फरक बनाएको हुन्छ । कुनै राष्ट्रमा सहज वातावरण हुन्छ भने कुनैमा चुनौतिपूर्ण हुन्छ ।
हाम्रो टिमले अन्य राष्ट्रका विद्यार्थीलाई समावेश गर्ने भनेपछि अन्तर्राष्ट्रिय विद्यार्थीलाई कसरी परिचित गराउने, कस्तो किसिमको प्रश्नहरू बनाउने, सम्बन्धित राष्ट्रहरुका प्रश्न कसरी बनाउने, त्यहाँको समाजिक, राजनीतिक, आर्थिक सबै कुराहरूको गृहकार्य गरेर जान्छौं ।
एउटा देशबाट कति विद्यार्थी क्विजमा सहभागी हुन्छन् ?
हाम्रो उद्देश्य भनेको एउटा देशबाट कम्तीमा एउटा टिम छनौट भएर आवोस् भन्ने हो । कहिले काहिँ दुइटा टिमपनि आउन सक्छन्, गत वर्ष इण्डिया र बङ्गलादेशबाट दुईदुई ओटा टिम आएका थिए ।
यो क्विजमा सहभागी भएर नेपाल आउने विदेशी विद्यार्थीले के फाइदा पाउँछन् ?
मुख्य उद्देश्य भनेको क्विजमा भाग लिएर विजेता हुने, पुरस्कार जित्ने नै हुन्छ । त्यो भन्दा थप भनेको, नेपाल आएर यहाँको रहनसहन संस्कृति बुझ्ने बोनस फाइदा हो । धेरै मुलुकका विद्यार्थी एकै थलोमा आएपछि सबैले सबैबाट एक अर्काको रहनसहन, संस्कृति, भाषा, भेषभुषा लगायत धेरै कुरा सिक्न सक्छन् । यो क्विजको बाई प्रोडक्ट हो ।
“








