रत्ननगरमा बार्षिक डेढ करोड स्वाहा ! मेयर नारायण भन्छन्–‘परिर्वतन हुँदैछ ।’

रत्ननगर असार ३० । रत्ननगर नगरपालिकाले विगत चार वर्षदेखि सुरू गरेको लक्षित वर्ग कार्यक्रम प्रभावविहीन देखिएको छ ।
लक्षितवर्ग कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा विनियोजित वार्षिक डेढ करोड बढी रकम खेर गइरहेको छ । लक्षित वर्ग कार्यक्रममा विनियोजन गरिएको एक करोड ८९ लाख ८० हजार रूपैयाँ मध्ये ८० प्रतिशत प्रभावहीन काममा खर्च भएको पाइएको छ । नेपाल सरकारले नगरपालिकामा २०७१ सालदेखि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गरी लक्षित वर्गको उत्थान र विकासको लागि ठूलो रकम लगानीमा कार्यक्रम गरिरहेको छ । रत्ननगरमा लक्षित वर्गको हितका लागि वार्षिक डेढ करोड बढी रकम खर्च हुँदै आएको छ ।

सो रकम वडास्तरीय रुपमा विनियोजन गरी तालिम, आयआर्जन, चेतनामूलक र रोजगारमूलक कार्यक्रममा सकिने गरेको छ । तर, तालिम लिएकाहरुले सो अनुसार काम नगर्ने, सीप सिकेकाले काम नगर्ने, कृषिको तालिम लिएकाहरु बेरोजगार भएर बस्ने गरेको पाइएको छ । तालिमहरु बजेट सक्न गरेको मात्र देखिएको छ । जुन उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो सो अनुसार प्रभावकारिता देखिएन नवनिर्वाचित मेयर नारायण वनले भने, ‘नगरपालिकाले अब लक्षित वर्ग कार्यक्रमको स्वरुप परिर्वतन गर्र्दैछ ।’

चालू आर्थिक वर्षमा महिला लक्षित कार्यक्रमअन्तर्गत ४५ लाख ७० हजार, बालबालिका लक्षित कार्यक्रमअन्तर्गत ६७ लाख ६० हजार र विपन्न बर्ग लक्षित कार्यक्रमअन्तर्गत ६६ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । रत्ननगर नगरपालिकामा अहिले १९ वटा वडा रहेका छन् । महिला लक्षित कार्यक्रमको एउटा वडामा दुई लाख ४० हजार, बालबालिका लक्षित कार्यक्रमको एउटा वडामा दुई लाख ६५ हजार र विपन्न वर्ग कार्यक्रमको एउटा वडामा तीन लाख ५० हजारका दरले वडामा बजेट पठाइएको थियो ।

नगरपालिकाले लक्षित वर्ग कार्यक्रमअन्तर्गत दिएको रकम सीपमूलक तालिम, आयमूलक तालिम, रोजगारीमूलक तालिम, चेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धि, ज्येष्ठ नागरिक सम्मान, अपाङ्गलाई कपडा, बालबालिकालाई खेलकुद सामग्री र क्षमता विकास कार्यक्रम गरिएको छ । तर, चार वर्षसम्म कार्यक्रम गर्दा पनि त्यसको प्रतिफल नदेखिएको नगर मेयर वनले बताए ।

गाईपालन तालिम लिएकाले दूध किनेर खान्छन्, तरकारी खेती तालिम लिएकाले बजारबाट तरकारी किन्ने गरेको पाइएको छ । ‘गाईपालन तालिम लिएकाले बजारबाट दूध किनेर खान्छन्’ उनले भने, ‘यस्तो अवस्था आएपछि नगरपालिकाले तालिम दिएको के अर्थ ।’ नगरपालिकाले अभिमुखीकरण र क्षमता विकासको तालिम दिएकाले प्रतिवेदनसमेत तयार गर्न नसक्ने अवस्था देखियो मेयर वनले भने, ‘यो अवस्थालाई हेर्दा चार वर्षसम्म कार्यक्रम गरेर नगरपालिकाले गरेको करोडौं लगानी अर्थहीन देखियो ।’ मेयर वनले अब हुने नगर सभाबाट लक्षित वर्ग कार्यक्रमको स्वरूप परिर्वतन गरी त्यसलाई अर्थपूर्ण बनाउने बताए । बालबालिका लक्षित कार्यक्रमको बजेट विद्यालयसँग सहकार्य गरेर उनीहरुको क्षमता विकासका लागि प्रविधिक शिक्षामा खर्च गरिने उनले बताए ।

महिला र विपन्न वर्ग लक्षित कार्यक्रमको बजेट विपन्न वर्गका महिलाहरुको पहिचान गरी उनीहरुलाई तालिमसँगै रोजगारको लागि वातावरण बनाउने सम्मको काम गर्ने मेयर वनले बताए । ‘हामीले तालिम दिएका व्यक्तिहरु कही कतै तरकारी खेती गरिरहेको, गाईपालन गरिरहेको, कम्प्युटरको काम गरिरहेको, सभा सम्मेलनमा निर्धक्क बोलिरहेको, ज्येष्ठ नागरिकहरु रमाइरहेको देख्न पाइयोस्’, मेयर वनले भने, ‘अहिले सम्म यस्तो कतै देख्न पाइँदैन ।’ लक्षित वर्ष कार्यक्रमअन्तर्गत वडाका अगुवा महिलाहरुले स्थानीयस्तरमा समिति बनाएर कार्यक्रम गर्दैै आएका छन् । चालू आर्थिक वर्षमा पनि त्यस्तै देखियो । समितिको अगुवाइ गर्ने अधिकांश उपभोक्ता समितिका संयोजकहरुले ५० प्रतिशत रकम कार्यक्रममा खर्च गर्ने र ५० प्रतिशत रकम हिनामिना गर्ने गरेको पाइएको छ ।

स्थानीय तहको निर्वाचन भएपछि नगरपालिकाले लक्षित वर्ग कार्यक्रमको बजेट वितरण प्रणालीमा सुधार गरेपछि उपभोक्ता समितिका संयोजकहरुलाई बिल मिलाउनै धौधौं परेको छ । नगरपालिकाले प्रत्येक खर्चको भ्याट वा पेन बिल अनिवार्य गरेपछि खर्च नभएका पैसाको बिल मिलाउन उपभोक्ता समितिका संयोजकहरुलाई समस्या परेको बुझिएको छ । ‘स्वास्थ्य शिविर गर्दा डाक्टर शुल्क भनेर ४५ हजारको भरपाइ गरेर ल्याएको पाइयो’ मेयर वनले भने, ‘निःशुल्क सेवा दिने डाक्टरको नाम जोडर भरपाइ आउने गरेको छ ।’ उनले पाँच सय खर्च लाग्ने कार्यक्रमको व्यानर खर्च भनेर दुई हजारको बिलसमेत आउने गरेको मेयर वनले बताए । त्यतिमात्र होइन वडामा भएका कार्यक्रमबाट वडा सचिवहरुले समेत पैसा लिने गरेको तथ्य बाहिर आएको छ ।

लक्षित वर्गको लागि आएको रकम खाजा, कापी कलम, प्रशिक्षण खर्च र सरोकारवालाहरुलाई वितरण गर्दामै सकिएको छ । उद्देश्य राम्रो हुँदाहुदै पनि कार्यक्रम सञ्चालन गर्न नजान्दा मोटो रकम अर्थपूर्ण काममा खर्च हुन नसकेको भन्दै मेयर वनले नगर सभाबाट यसलाई सुधार गरेर अगाडि बढाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *