कर्मचारी नहुदाँ इलाका प्रशासनको सेवा बन्द

नुवाकोट, ३० असार । स्थानीय सातविसेस्थित इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा कर्मचारीको अभावमा बन्द भएको छ ।

शाखाअधिकृतले नेतृत्व सम्हाल्ने सो कार्यालयमा पदपूर्ति नहुदाँ काजमा रहेका नायब सुब्बाको पनि कार्यकाल पूरा भएपछि सेवा बन्द भएको हो ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तादी र दुप्चेश्वर गाउँपालिकाको १३ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको सो कार्यालयमा असार २६ गते सोमबारदेखि कार्यालय प्रमुख नहुँदा बन्द भएपछि त्यहाँका नागरिक सरकारी कामका लागि जिल्ला सदमुकाम विदुर धाउन बाध्य भएका छन् ।

इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी, गाउँखर्क, बेतिनीबाट सदरमुकाम विदुर आउन १८ कोषको दूरी पार गर्नुपर्छ । वर्षायाममा यातायातको साधन अवरुद्ध हुँदा नागरिक जिल्ला प्रशासन कार्यालयसम्म आउन र जानका लागि दुई दिन बिताउन बाध्य छन् ।

निमित्त प्रमुख रहनुभएका ऋषेश्वर न्यौपानेको काज अवधि सकिएसँगै जिल्ला प्रशासन कार्यालयमा फर्किएकाले इलाका प्रशासन कार्यालय सहयोगीले चलाउँदै आएका छन् । प्रमुख नहुँदा इलाका कार्यालयबाट प्रवाह हँुदैआएको नागरिकताको प्रमाणपत्र, नाबालक परिचयत्र पत्र, सिफारिसलगायतका काम बन्द भएको छ ।

उक्त कार्यालयका लागि अधिकृतको दरबन्दी भए पनि गृह मन्त्रालयबाट पदपूर्ति नहुँदा जिल्लाबाट नै अर्को व्यवस्थापन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *