मेनपावर व्यवसाय व्यवस्थित खै !

बनियानी (झापा), ३० असार । मेनपावर व्यवसायलाई व्यवस्थित गर्न राज्य र व्यवसायी दुवै लाग्नुपर्ने विभिन्न क्षेत्रका व्यक्तित्वले सुझाव दिएका छन् ।

बिर्तामोडमा आज आयोजित ‘मेनपावर व्यवसाय र चुनौती’ विषयक अन्तरक्रियाका सहभागीले राज्यले ऐन कानुन बनाउनुपर्ने तथा व्यवसायीले मर्यादित भएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले १० वर्ष अघिको भन्दा अहिले मेनपावार व्यवसाय धेरै मर्यादित भइसकेको बताउनुभयो । “पहिला ठग्ने उद्देश्यले मेनपावर सञ्चालन गरेको पाइन्थ्यो, अहिले व्यवसायीको सकारात्मक प्रयासले व्यवस्थित बन्दै गएको छ,” उनले भने ।

शाखाका उपाध्यक्ष एकराज गिरीले दुई सयभन्दा बढी मेनपावर कार्यालय रहेको जिल्लामा कतिपय मापदण्डविपरीत सञ्चालन भइरहेकाले त्यसको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिए । विदेशमा नेपाली नागरिक बिचल्लीमा परेपनि राज्य र मेनपावर व्यवसायी जवाफदेही नहुँदा समस्या हुने गरेको बताए ।

बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङले मेनपावर व्यवसाय व्यवस्थित बन्न नसक्दा नकारात्मक सन्देश गएको बताएका थिए ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जनताको जीवनस्तर उकास्न वैदेशिक रोजगारको महत्पूर्ण योगदान भएको बताएका थिए । वैदेशिक रोजगार व्यवसायी सङ्घका संयोजक धनबहादुर पन्धाकले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले धानेको भए पनि राज्यले यसलाई गम्भीरताका साथ नहेरेको आरोप लगाए । कार्यक्रमको आयोजना आवर डेस्टिनी मेनपावर शाखा बिर्तामोडले गरेको हो । कार्यक्रममा सो शाखाका तर्फबाट पत्रकार सहारा उपचार कोषलाई रू ११ हजार १११ सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *