नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, ३० असार । नेपाली काँग्रेसका शीर्ष नेताहरुले आफ्ना नेता रामहरि जोशीको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

नेपाली राजनीतिमा गान्धीवादी एवं समाजवादी पुराना नेताको रुपमा चिनिनुभएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।

अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीरलाई सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा राखिएको थियो ।

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्व जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

यसैगरी नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा रामशरण महतलगायत नेता तथा कार्यकर्ताले आफ्ना पुराना नेताको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पणगरे ।

विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी विसं २००७ देखि नै नेकाको राजनीतिमा सक्रिय रहेका थिए । नेकाका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निष्ठा र आदर्श जीवनपद्धतिको पदचापमा उहाँ अविछिन्न र अविचलितरुपमा लागिरहेका थिए ।

आफ्नो जीवनका केही समय उनले सर्लाही, हरिऔन, सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता माविका प्रधानाध्यापक रही शिक्षा सेवासमेत गरेका थिए । राजनीतिमा सक्रिय भएपछि उहाँले विवाहसमेत गर्न भ्याउनुभएको थिएन । वरिष्ठ नेता पौडेलले भने– “जोशीले जीवनभर गर्नुभएको नीति, निष्ठा र आदर्शको राजनीतिलाई भावी पुस्ताले अविछिन्नरुपमा पछ्याउनुपर्छ ।”

जोशीले लेखेका ‘अँध्यारोबाट उज्यालोतिर’ भन्ने पुस्तक चर्चित रहेको छ ।

आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा पर्नुभएका उनी विसं २०४८ र २०५१ मा सर्लाही जिल्लाबाट सांसद बनेका थिए । साथै विसं २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत भएका थिए ।

घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए । स्व जोशीको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *