सुर्खेतमा मौसमी राडार स्थापना गर्ने

सुर्खेत, असार २९ । जल तथा मौसम विज्ञान विभागले विपद् व्यवस्थापन तथा मौसम पूर्वानुमानका लागि सुर्खेतमा मौसमी राडार स्थापना गर्ने भएको छ । करिब १५० अर्धब्यासको आकासमा स्क्यानिङ (चित्राङ्कित) गर्नसक्ने उक्त राडारबाट आकाशमा बादल भए/नभएको, पानी के कति पर्ने भन्ने बारेमा सूचना लिन सकिनेछ ।
आकाशतर्फ तेर्साएर राखिने सो यन्त्रले ३६० डिग्रीको कोण बनाएर त्यहाँको वास्तविक अवस्थाको तस्बिर खिच्ने र त्यसका आधारमा हिमपात, असिना तथा स्थानीय क्षेत्र हवाई यातायातका लागि उपयुक्त भए÷नभएको अनुमान गर्न सकिन्छ । त्यसबाट विभिन्न नदीमा बाढी आउनसक्ने सम्भावनाको समेत विश्लेषण गरी सतर्कता अपनाउनलाई आवश्यक रणनीतिसमेत बनाउन सकिने विभागले जनाएको छ ।
विश्व बैंकको सहयोगमा करिब रु २२ करोडको लागतमा आगामी आवभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिमतालमा हुने घटबढ तथा मनसुनमा आउने फेरबदलबारे अध्ययन गरेपछि स्थानीयवासीलाई सूचना प्रवाह गरी खतरामुक्त स्थानमा सारेर धनजनको क्षति हुनबाट बचाउन सो राडारको महत्व छ ।  सो कार्य सम्पन्न भएलगत्तै उदयपुर र पाल्पामा पनि यस किसिमको राडार निर्माण गर्ने योजना विभागको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *