चेपाङ बालबालिकालाई  ४० बोरा चामलसहित नून, तेल सहयोग

रत्ननगर (चितवन), २९ असार । चितवनको रत्ननगरमा आश्रित चेपाङ बालबालिकाका लागि खाने अन्न सकिएपछि विभिन्न क्षेत्रबाट आज खाद्यान्न सहयोग गरिएको छ । आज यहाँ ४० बोरा चामलसहित दाल, नून, तेल, मसलालगायत खाद्यान्न सहयोग गरिएको छ ।

सौराहास्थित लायन्स क्लब अफ चितवन र लियो क्लब अफ चितवनले आज गामबेँशी चेपाङ संरक्षण केन्द्रमा पुगेरै त्यहाँ आश्रित चेपाङ बालबालिकालाई १५ बोरा चामल तथा दुई बोरा दाल सहयोग उपलब्ध गराएको हो ।

लायन्सका द्वितीय उपाध्यक्ष शीरलाल परियारले केन्द्रमा आएर हेर्दा खाद्यान्न सकिएको जानकारी पाएपछि लायन्स तथा लियोबाट पैसा संकलन गरेर यसरी खाद्यान्न सहयोग गरिएको बताए ।

परियारले बालबालिकाका लागि खाद्यान्न नभएको जानकारी आएपछि तीन दिनअघि पनि चार बोरा चामल सहयोग गर्नुभएको थियो । चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्माले चामल सकिएर बालबालिका भोगभोकै बस्ने अवस्था आएका बेला सहयोग भएको खाद्यान्नले ठूलो राहत मिलेको बताए ।

लायन्स क्लब इन्टरनेशनल ३२५ वी२ का रिजन चेयरपर्सन योगेश अधिकारीले समस्यामा परेकालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्ठी भएको उल्लेख गर्नुभयो । यस्तै सो केन्द्रमा खाद्यान्नको अभाव भएको थाहा पाएपछि आजै चितवनको भरतपुरका क्रिकेट खेलाडीले समेत खाद्यान्न सहयोग गरेका छन् ।

क्रिकेट खेलाडी निश्चल पाण्डेसहितको खेलाडी आएर २५ बोरा चामल, पाँच कार्टुन तेल, एक बोरा नुन तथा मसला सहयोग गरिएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिए ।

सो केन्द्रमा विभिन्न क्षेत्रका करिब १०० जना चेपाङ बालबालिका आश्रय लिएर पठनपाठन गर्दै आएका छन् ।

मानवसेवा आश्रममा भोजन सेवा

यता लायन्स क्लब अफ रत्ननगर पिसले आज चितवनको भरतपुरमा रहेको मावनसेवा आश्रमका आश्रितलाई आज भोजन खुवाइएको छ ।

सीता अधिकारी खनालको पुण्य तिथिका अवरसमा उनका भाइ केदारबहादुर अधिकारीको आर्थिक सहयोगमा भोजन खुवाइएको लायन्स क्लब इन्टरनेशनल ३२५ वी२ का जोन चेयर पर्सन कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

रत्ननगर पिसका अध्यक्ष सविन रेग्मीले नयाँ समितिको पहिलो कार्यक्रममा असहायको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे । सडकमा मागेर हिँड्ने तथा मानसिक सन्तुलन गुमाएर सडकमा भेटिएकाको उद्धार गरी आश्रमले उनीहरुको उपचार, पालनपोषण र परिवारमा पुनर्मिलन गर्दै आएको छ । हाल आश्रममा ५२ जना आश्रित रहेको आश्रमकी संयोजक रुपा केसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *