पाँचौ औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

भरतपुर, चैत १८ । भरतपुरमा यही चैत २३ देखि २७ गतेसम्म पाँचौँ औद्योगिक प्रदर्शनी हुँदैछ । प्रदर्शनीको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

‘प्रदर्शनीको लागि करिब ८० प्रतिशत तयारी सकिएको छ’ आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भने । निर्माण हुँदै गरेको चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्र स्थलमा पाँचौँ औद्योगिक प्रदर्शनी हुन लागेको हो ।

करिब २५० वटा स्टल क्षमता भएको उक्त स्थानमा करिब १८० भन्दा बढी स्टल बुकिङ भइसकेको संघका अध्यक्ष दुवाडीले जानकारी दिए । ‘यो पटक हामीले नयाँ मोडलमा प्रदर्शनी गर्न लागेका छौँ’ अध्यक्ष दुवाडीले भने, ‘बल्ल वास्तविक प्रदर्शनी हुन लागेको हामीले महसुस गरेका छौँ ।’


चितवन उद्योग संघले लामो समयदेखि चितवन, मकवानपुर र नवलपुरलाई आर्थिक विकासको मुख्य केन्द्र बनाउनुपर्ने आवाज उठाउँदै आइरहेको छ । ‘यो प्रदर्शनीले पनि हामीले उठाउँदै आएको आवाजलाई थप बुलन्द पार्नेमा हामी विश्वस्त छौँ’ उनले भने । उत्पादक र उपभोक्ताबीचको सम्बन्ध प्रगाढ बनाउनको लागि पनि प्रदर्शनीबाट सहयोग मिल्ने आयोजकले अपेक्षा लिएको छ ।

प्रदर्शनी सम्पन्न गर्नको लागि करिब ६० देखि ७० लाख रूपैयाँ खर्च लाग्न सक्ने अनुमान छ । ‘हामीले यसअघिका चारवटा प्रदर्शनीबाट पनि आम्दानी गरेका छैनौँ’ अध्यक्ष दुवाडीले भने ‘विशुद्ध प्रवद्र्धनात्मक प्रदर्शनी भएकोले यो पटकको प्रदर्शनीबाट पनि आम्दानीको अपेक्षा गरेका छैनौँ । तर, प्रदर्शनीबाट स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्नमा सहयोग मिलेकोमा यसैमा सन्तुष्टि रहेको छ ।’

संघका अनुसार २०६६ सालमा पहिलो औद्योगिक प्रदर्शनी गर्दा करिब ३०० जना उद्योगी चितवन उद्योग संघमा आवद्ध थिए भने हाल एक हजारभन्दा बढी उद्योगीहरू संघमा आबद्ध छन् ।

प्रदर्शनीले देशको अर्थतन्त्रलाई बलियो बनाउने संघले विश्वास लिएको छ । ‘विदेशी उत्पादनले स्वदेशी उत्पादनको बजार कमजोर भइरहेको अवस्थामा स्वदेशी उत्पादनलाई आम जनतामाझ चिनाउनको लागि औद्योगिक प्रदर्शनीले मह¤वपूर्ण भूमिका खेल्नेछ’ संघका उपाध्यक्ष राजु पौडेलले भने, ‘यसले देशको अर्थतन्त्रलाई माथि उकास्नमा पनि सहयोग मिल्नेछ ।’

पाँचदिनसम्म चल्ने प्रदर्शनीलाई नजिकबाट अवलोकन गरी सहयोग गरिदिन पनि चितवन उद्योग संघले सबैमा अनुरोध गरेको छ । प्रदर्शनी अवलोकन गर्नको लागि ५० र ३० रुपैयाँ गरी दुईथरी टिकटको व्यवस्था गरिएको छ । प्रदर्शनीमा औद्योगिक परामर्श, मेशिन उपकरण, होटल तथा रेष्टुरन्ट, उत्पादनमूलक उद्योग, रोजगार प्रवद्र्धन, कृषि तथा पशुजन्य उत्पादन, युवा उद्यमीलगायतको प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *