प्रचण्ड पुत्री रेनु दाहालले गरिन् म्यूजिक भिडियोमा अभिनय

नारायणगढ, चैत १८ । नारायणी नदी किनार हरेक हिसाबले सबैको आकर्षणको केन्द्र बन्दै गएको छ । चाहे घुम्नको लागि होस् या, फोटो खिच्न । या त कुनै पनि चलचित्र वा म्युजिक भिडियो छायांकन गर्न ।

प्रायः महिनामा कुनै न कुनै गीत या फिल्मको सुटिङ स्थल बन्दै गएको नदी किनार शनिबार पनि एउटा फरक खालको म्यूजिक भिडियोको छायांकन भएको छ । विगत दुई वर्षदेखि सरसफाइमा सक्रिय समूह ‘वे’ ग्रुपले निर्माण गरेको म्युजिक भिडियोको छायांकन भएको हो ।

प्रायः साँझ बिहानको समयमा मानिसहरूको चहलपहल बढी देखिने नदी किनारमा शनिबार भने दिनभरजसो अंग्रेजी अक्षरमा ‘वे’ लेखिएको हरियो रंगको टिसर्ट लगाउनेहरूकै बढी चहलपहल देखिन्थ्यो ।

‘स्वच्छ सफा वातावरण’ बोलको गीतको म्युजिक भिडियोमा गायक सशान कँडेलले निर्देशन गरेका छन् । भिडियोमा ‘वे’ ग्रुपका अभियान्तासँगै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तलगायतले अभिनय गरेका छन् ।

उक्त गीतमा दीपक गौतमको शब्द र युवराज कँडेलको संगीत छ । युवराज कँडेल र सशान कँडेलले आवाज दिएका छन् । विनय केटुको म्युजिक एरेञ्जमा तयार भएको उक्त गीतको भिडियो ओम प्रसाईँले खिचेका छन् ।

नारायणी नदी किनार, उद्योग वाणिज्य संघ, पुलचोक, नारायणी पुललगायतका स्थानमा छायांकन गरिएको म्युजिक भिडियो केही दिनभित्रै सार्वजनिक गर्ने ‘वे’ ग्रुपले जनाएको छ ।

‘वे’ ग्रुपको ९९ औँ श्रृङ्खला आउन लाग्दा छायांकन भएको म्युजिक भिडियोले थप उर्जा मिलेको ग्रुपका अभियान्ताहरूले बताएका छन् । विशुद्ध सामाजिक भावको गीत गाउन र निर्देशन गर्न पाउँदा आफूलाई पनि फरक अनुभूति भएको गायक एवम् निर्देशक कँडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *